देउवासँग सल्लाह नगरी नेपालमाथि मुद्दा लगाइएको प्रचण्डको आरोप
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध पताञ्चलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ता भएपछि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ।

देउवाले भएको के हो भन्दै आफूलाई फोन गरेपछि आश्चर्यमा परेको प्रचण्डले बताए । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले देउवाले फोन गरेपछि मुद्दा दर्ता गर्ने सल्लाह नभएको रहेछ भन्ने आफूलाई लागेको बताए ।
उनले भने, ‘देउवाजी झूट चाहिँ बोल्नुहुन्न । हिजो फोन गर्नुभएको थियो । माधवमाथि जुन मुद्दा दर्ता भयो, त्यस विषयमा उहाँ आफैँले मलाई सोध्नुभयो, के भएको हो ? अब शेरबहादुरजीले मलाई सोध्ने भनेपछि त आश्चर्यमा परेँ म ।’
देउवाले सोधेपछि सत्तारुढ दलको ठूला नेता तपाईं भन्दै अलिअलि ठट्टा पनि भएको प्रचण्डले बताए ।
उनले प्रधानमन्त्री केपी ओलीले प्रतिशोध राखेर पूर्वप्रधानमन्त्री नेपालमाथि मुद्दा दर्ता गर्न लगाएको आरोपसमेत लगाएका छन् । त्यसो त सदनको अवरोध हटाउने विषयमा पनि देउवासँग प्रचण्डले छलफल गर्दैछन् ।
