प्रसाईलाई पुर्पक्षमा पठाउन ठुलै व्यवसायीको हात, एउटै मुद्दाका मिश्र र राणा फरार

काठमाडौं– गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका प्रतिवादीमध्ये ७ जना पुर्पक्षका लागि कारागार चलान भए । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिले गरेको कार्यक्रममा सहभागि भएका दुर्गा प्रसाईंसहित कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेत कारागार चलान भए । हाल प्रसाईलाई डिल्ली बजार कारागारमा राखिएको छ ।
बिहीबार राति साढे १२ बजे काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ७ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । प्रसाईलाई भने पुर्पक्षमा पठाउन केही व्यवसायीको ठुलै हात रहेको काठमाडौं जिल्ला अदालतकै कर्मचारीहरु बताउँछन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक प्रसाई हुन् । उनकै नेतृत्वमा यो महाअभियान काम गर्दै आएको छ । प्रसाईले महाअभियानमार्फत बिचौलिया व्यापारको सरकारसँग उठबस र अन्य विकृत्तिका बारेमा आवाज उठाएका थिए । प्रसाईको महाअभियानले बैंक तथा वित्तिय क्षेत्रको अराजक गतिविधिको पनि आवाज उठाउँदै आएका थिए ।
तीनकुने घटनामा प्रसाईंबाट उच्छृखल अभिव्यक्ति आउने, भिडलाई उत्तेजित पार्ने, निषेधित क्षेत्र तोड्न लगाउने, आफैं सुरक्षाकर्मीलाई ज्यान मार्ने उद्देश्यले गाडीले पेल्ने प्रयास गरेको आरोप छ । तर उनले यस्तो गतिविधि गरेको प्रमाण प्रहरीसँग छैन ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । तर प्रसाईविरुद्ध आपराधिक उपद्रव मुद्दामा मात्र पुर्पक्षमा पठाइएको छ । प्रसाईलाई पुर्पक्षमा पठाउन ठृुलै व्यापारिक गिरोह लागेको उनीनिकट व्यक्तिहरुले आरोप लगाएका छन् ।
प्रसाईले राजनीतिक आडमा देश, जनता र देशको अर्थतन्त्र लुट्ने व्यापारीविरुघ आवाज उठाउँदै आएका थिए । जसका कारण केही मारवाडी व्यवसायीको दुई वर्षयता ठग कम भएको थियो । त्यही भएर उनीहरुसहित केही बैंक सञ्चालक र व्यापारी तीनकुने घटनापछि प्रसाईलाई थुनाउन लागि परेका थिए ।
प्रसाई पक्राउ परेपछि नै केही व्यवसायी उनलाई थुनाउन सक्रिय भएको र त्यही अनुसार सरकारसँगै प्रहरीसँग लविङ समेत गरेको कतिपय सरकारी वकिल नै बताउँछन् ।
हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरुको बारेमा सरकार निरिह देखिएको छ । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलन हिंसात्मक बनाएको आरोपमा उनीहरू पक्राउ गरिएको थियो ।
उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिएका छन् ।
मुद्दाको अनुसन्धान प्रक्रियाका लागि हाजिर नभएपछि खोजी कार्य सुरू भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौका प्रवक्ता एसपी अपीलराज बोहराले पनि मिश्र र राणालाई कार्यालयमा उपस्थित गराउने प्रक्रिया शुरू भएको बताए ।