प्रसाईले होइन, उनका समर्थकले तोडफोड र आगो लगाउनुपर्छ भनेर पठाएका थिए म्यासेज

काठमाडौं– गत १५ चैतमा तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा विभिन्न ठाउँमा आगो लगाउनुपर्छ भन्दै आफ्ना समर्थकले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका समर्थकले पठाएको पाइएको प्रहरीले जनाएको छ ।
तिनकुनेको हिंसात्मक घटना गराएको आरोपमा पक्राउ परेका व्यक्तिहरुबाट बरामद भएका मोबाइल जाँच गर्ने क्रममा प्रसाईंलाई ‘आगो लगाउनुपर्छ’ भन्दै म्यासेज पठाएको भेटिएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
सरकारलाई अब आगो लगाउनुपर्छ । अब चाहिँ सबै जिल्लाहरुमा यस्तै गर्नुपर्छ । ठाउँ–ठाउँमा आगो लगाउने हो अब । …. मिडिया पनि जलाउनुपर्छ,’ प्रसाईंलाई समर्थकले म्यासेज पठाएपनि उनले कुनै प्रतिक्रिया नदिएको प्रहरी स्रोतले जनाएको छ ।
आगो लगाउने र मिडिया हाउस केन्द्रित आक्रमण गर्न आह्वान गर्दै म्यासेज पठाएको भेटिएको हो । तर प्रसाईले यसको प्रतिक्रिया नदिएको उनको भनाइ छ ।
उनका अनुसार मोबाइल जाँचका लागि ‘डिजिटल फरेन्सिक ल्याब (डीएफएल)’मा पठाइएको थियो । डीएफएल जाँचका क्रममा प्रसाईंलाई उक्साउने गरी समर्थकले म्यासेज गरेको भेटिएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका वछन् ।
बिहीबार राति साढे १२ बजे काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित ७ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । त्यसपछि प्रसाईं अहिले डिल्लीबजार कारागार चलान भएका छन् ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । अन्य कसुरको हकमा आदेशमा कुनै कुरा उल्लेख भएको छैन । तर प्रसाईंले आपराधिक उपद्रवको कसुर होइनन् भनी विश्वास गर्ने ठाउँ नदेखिएको भन्दै अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।
प्रसाईं महाअभियानको संयोजक हुन् । उनकै नेतृत्वमा यो महाअभियान सञ्चालन हुँदै आएको छ ।