Close

Recent Posts

इजरायललाई अमेरिकी सहयोग र इरान कसको भरोसा लड्दै

इजरायललाई अमेरिकी सहयोग र इरान कसको भरोसा लड्दै
  • ४ असार २०८२, बुधबार १२:४९

काठमाडौं– मंगलबार रातिदेखि इजरायल र इरानबीच लडाइँ झन् चर्किएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीले इजरायलको दयामाया नगरी आक्रमण तेज पार्ने घोषणा गरेका छन् ।

mulpatra

इजराइलको शक्तिशाली र अत्याधुनिक सेना हाबी हुने गरेको छ । इजराइलसँग अधिकांश हतियार छन् । धेरैजसो अत्याधुनिक हतियार इजरायलले अमेरिकाबाट प्राप्त गरेको छ ।

सन् २०२५ को जुन १३ शुक्रबारको दिन इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु ग¥यो । लगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रियो । ६ दिनदेखि यो क्रम जारी छ ।

९० लाख जनसंख्या भएको इजरायल ८ करोड ८० लाख जनसंख्या भएको पश्चिम एसियाको विशाल देश इरानसँग भिडिरहेको छ । त्यसैले भूगोलमा पनि सानो इजरायलको लडाइँ इरानसँग असमान देखिन सक्छ ।

इजरायल–इरान संघर्षमा हालसम्म २४८ इरानीको मृत्यु भइसकेको र १ हजार २७७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इजराइली हमलामा करिब एक दर्जन इरानी उच्च सैनिक कमान्डर समेत मारिएका छन् । इजरायलतर्फ २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएका समाचार सार्वजनिक भएका छन् ।

इरानको अर्धसरकारी सञ्चारमाध्यम मेहरका अनुसार इजरायलतर्फ ‘फताह १’ नामक क्षेप्यास्त्र प्रहार भएको छ । सरकारी प्रेस टीभीले पनि इस्लामिक रिभोलुशनरी गाड्र्स कोर (आईआरजीसी)लाई उद्धृत गर्दै फताह क्षेप्यास्त्रले इजरेलको प्रतिरक्षा प्रणाली अन्त्यको सुरुवात गर्ने जनाएको छ ।

सन् २०२३ मा पहिलोपटक प्रदर्शन गरिएको फताह क्षेप्यास्त्रको गति ध्वनिको भन्दा पनि तेज रहेको दाबी इरानले गर्दै आएको छ । फताहको पहिलो प्रदर्शनमा झुण्डाइएको ब्यानरमा हिब्रु भाषामा ‘४०० सेकेन्डमा तेल अविव’ लेखिएको थियो । तेल अविवलाई इजरायलको आर्थिक, प्राविधिक, सांस्कृतिक र व्यापारिक राजधानी मानिन्छ ।

अमेरिकी अनुमान अनुसार, इजराइली आक्रमण अघि इरानसँग पश्चिम एसियामा सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइल भण्डार थियो, जसको अनुमानित संख्या २,००० देखि ३,००० को बीचमा थियो ।

रूसी थिंक ट्यांक जस्टिन ब्रोंक भन्छन्– इजराइल हालको अवस्थामा तेहरानको हवाइ क्षेत्रमा दबदबा भएको दाबी त गर्न सक्छ, तर उसले पूर्ण रूपमा हवाई नियन्त्रण प्राप्त गरेको छैन र छोटो दूरीका मिसाइलहरूको खतरा अझै कायम छ ।

इरानको परमाणु केन्द्र विश्वका धेरै देशलाई टाउको दुखाइको विषय बनिरहेको छ । गत साता संयुक्त राष्ट्रसंघको परमाणु निगरानी संस्था आईएईएले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा इरानले ६० प्रतिशत शुद्धतासम्मको युरेनियम संकलन गरेको उल्लेख छ ।

एजेन्सीका अनुसार, यदि यो स्तर ९० प्रतिशतसम्म पुग्यो भने, प्राविधिक रूपमा त्यसबाट परमाणु बम बनाइने सम्भावना हुन्छ । त्यसैले एजेन्सीले यसलाई गम्भीर चिन्ताको विषय भनेको छ ।

पछिल्लो अवस्थामा इरानको राजधानी तेहरानको हवाई क्षेत्रमाथि ‘पूरा नियन्त्रण’ प्राप्त गरेको इजरायलले दाबी गरेको छ । बीबीसीले पनि इरानसँगको संघर्षमा हालसम्म इजराइलको हवाई क्षेत्रमा पूरै दबदबा देखिएको छ । इजराइलका आधुनिक अमेरिकी निर्मित युद्धक विमानहरूले छोटो दूरीबाट मार्गनिर्देशित बम खसालेका छन् ।

हालसम्मको संघर्षमा इजराइली वायु सेनाले जमिनमा रहेका राडार र प्रक्षेपकहरूलाई निशाना बनाउने कार्य जारी राखेको छ । संघर्ष सुरु हुनुअघि नै इजराइली गुप्तचर एजेन्टहरू इरानभित्र प्रवेश गरी उसको प्रतिउत्तर क्षमतालाई निशाना बनाउने तयारी गरिरहेका थिए ।

रानले धेरै वर्षसम्म गाजा क्षेत्रमा हमास र लेबनानमा हिज्बुल्लाहलाई हतियार र प्रविधि उपलब्ध गराउँदै आएको छ । यद्यपि, पछिल्ला दुई वर्षमा इजराइली कार्यबाहीले यी दुबैको अग्रपंक्तिमा चुनौती दिने क्षमतालाई समाप्त गरिदिएको बताइन्छ ।

गाजामा हमास लगभग समाप्त भइसकेको छ, भने हिज्बुल्लाहको शक्ति यति घटेको छ कि उसले इरानमाथि इजराइलका हमलाको जवाफ दिन सकिरहेको छैन ।

दोस्रो तर्फ, यमनमा रहेका हूथी विद्रोहीहरूसँग इजराइलमाथि मिसाइल प्रहार गर्ने क्षमता छ । उनीहरूले त्यो गरिरहेका पनि छन् । अमेरिकाको बमबारीको बाबजुद, हूथीहरूले जमिनबाट आकाशमा प्रहार गर्न सक्ने मिसाइल प्रयोग गरेर धेरै ड्रोनहरू खसालिसकेका छन् ।