अमेरिकी आक्रमणले पुनः युद्धतर्फ धकेलिँदै मध्यपूर्व
एजेन्सी । स्ट्रेट अफ होर्मुजमा पानामाको झण्डा बोकेको तेल ट्यांकर एम टी किकूमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिका–इरानबीचको तनाव फेरि तीव्र बनेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्डले उक्त आक्रमणलाई युद्धविराम उल्लंघनको रूपमा व्याख्या गर्दै इरानभित्रका सैन्य निगरानी संरचना, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा, ड्रोन भण्डारण केन्द्र तथा सैन्य क्षमतासँग सम्बन्धित अन्य पूर्वाधारमाथि हवाई आक्रमण गरेको जनाएको छ।

सेन्टकमका अनुसार यो कारबाही व्यावसायिक जहाजहरूमाथि भइरहेका आक्रमणको प्रत्यक्ष जवाफ हो भने होर्मुज हुँदै अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत भने निरन्तर जारी रहेको छ।
अमेरिका र इरानबीच केही साताअघि भएको अस्थायी युद्धविराम र कूटनीतिक संवादको प्रयास यी घटनापछि पुनः संकटमा परेको देखिएको छ। वाशिङ्टनले इरानले सम्झौताको उल्लंघन गर्दै व्यापारिक जहाजमाथि ड्रोन आक्रमण गरेको आरोप लगाएको छ भने इराननिकट पक्षहरूले अमेरिकी कारबाहीलाई थप उक्साहटको रूपमा चित्रण गरिरहेका छन्।
![]() |
![]() |
![]() |
|---|
पछिल्ला दिनहरूमा होर्मुज क्षेत्रमा जहाजमाथि आक्रमण, खाडी मुलुकहरूमा सुरक्षा सतर्कता वृद्धि तथा दुवै पक्षबाट प्रतिआक्रमणको चेतावनीले मध्यपूर्व फेरि व्यापक सैन्य द्वन्द्वतर्फ उन्मुख भएको संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विश्वको करिब पाँचौं भाग कच्चा तेल ओसारपसार हुने रणनीतिक जलमार्ग होर्मुजमा बढ्दो अस्थिरताले ऊर्जा बजार, अन्तर्राष्ट्रिय व्यापार र क्षेत्रीय सुरक्षामाथि गम्भीर प्रभाव पर्ने चिन्ता बढेको छ।
यद्यपि इरानले अमेरिकी पछिल्ला हवाई आक्रमणबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन, दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेका छन्। कूटनीतिक प्रयास कमजोर बन्दै जाँदा मध्यपूर्वमा नयाँ सैन्य टकरावको जोखिम बढेको विश्लेषण गरिएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



