विद्या भण्डारीको नेतृत्वमा कम्युनिष्ट नेताहरू एकै मञ्चमा
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा असार १४ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमा नेपालको कम्युनिष्ट आन्दोलनका प्रमुख नेताहरू एउटै मञ्चमा उभिने भएका छन्।

पूर्वराष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित समारोह दिउँसो १ः३० बजे सुरु हुनेछ।
लामो राजनीतिक दूरी र विभाजनपछि विशेषगरी ओली र माधव नेपाल एउटै मञ्चमा देखिन लागेकाले यस कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय कम्युनिष्ट शक्तिहरूबीच सहकार्य र एकताको बहस तीव्र बन्दै गएको सन्दर्भमा विद्या भण्डारीको सक्रियतामा विभिन्न वामपन्थी नेताहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास सफल भएको रूपमा यसलाई विश्लेषण गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
प्रतिनिधिसभा निर्वाचनपछिको राजनीतिक समीकरण र वाम एकताको सम्भावनाबारे पनि यस कार्यक्रमले थप चर्चा जन्माउने अपेक्षा गरिएको छ। यद्यपि तत्काल पार्टी एकता सम्भव नरहे पनि कार्यगत सहकार्यको वातावरण निर्माण हुँदै गएको संकेत नेताहरूले दिँदै आएका छन्। हालै विराटनगरमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसँग सडकदेखि सदनसम्म कार्यगत एकता अघि बढाउने धारणा सार्वजनिक गरेका थिए।
मदन भण्डारीको विचार र जनताको बहुदलीय जनवादबारे केन्द्रित रहने यस समारोहमा नेताहरूले व्यक्त गर्ने धारणा आगामी वाम राजनीतिको दिशा र सम्भावित सहकार्यबारे महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।



