इजरायलमा ७ हजारभन्दा बढी भारतीय पासपोर्ट भएका नेपाली कार्यरत रहेको अनुमान (भिडियोसहित)

काठमाडौं– इजरायलमा भारतको बाटो हुँदै गएका करिब सात हजारभन्दा बढी नेपाली कार्यरत रहेको पाइएको छ । उनीहरु भारतीय राहदानी लिएर त्यहीँको विमानस्थलमाफर्त इजरायल गएको अनुमान छ ।
इजरायलमा लगातारको आक्रमणका कारण नेपाली समुदाय निकै त्रसित भएपनि स्वदेश फर्किन इच्छा नदेखाएको गैरआवासीय नेपाली संघ इजरायलका पूर्वअध्यक्ष गणेश गिरीले जानकारी दिए ।
इजरायलमा केयरगिभर र कृषिमा गरी करिब ५ हजार ५ सय नेपाली कार्यरत छन् । त्योभन्दा बढी संख्यामा भारतीय राहदानी बनाएर आएका नेपाली इजरायलको विभिन्न क्षेत्रमा कार्यरत रहेको गिरीको अनुमान छ ।
कतिपय घटनामा भारतीय राहदानी लिएर आएका नेपाली समस्यामा पर्दा यो कुरा बाहिरिएको उनले बताए । ‘इरान–इजरायलको युद्धका कारण केही मात्रमा त्रास छ । तर यहाँ इजरायली नागरिक जति सुरक्षीत छन् । विदेशी नागरिक पनि त्यति नै सुरक्षीत भएका कारण आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ उनले भने ।
अहिलेको युद्ध इजरायल–हमास युद्ध जस्तो होइन । त्योभन्दा खतरा युद्ध भएको गिरीले जानकारी दिए । युद्ध चहिलरहे पनि नेपालीहरु स्वदेश फर्किन नचाहेको उनको भनाइ छ । यसको मुख्य कारण भनेको इजरायलमा रोजगार सुरक्षा, तलबको सुविधा र अन्य सुविधा भएको उनको बुझाइ छ ।
गिरीका अनुसार इजरायल–हमास युद्धमा स्वदेश फर्किएका केही नेपाली अस्ति नै इजरायल आइसकेका छन । जसका कारण स्वदेश फर्किन नेपालीले नचाहेको उनले जानकारी दिए । नेपाली कामदार भारतीय राहदानी बनाए इजरायलका काम गरिरहेका धेरै उदहारण छन् । यस विषयमा नेपालस्थित इजरायली दूतावास समेत जानकार भएको गिरीको दाबी छ ।
तर इजरायलस्थित नेपाली राजदूत डा.धनप्रसाद पण्डितले भने यस विषयमा आफु जानकार नभएको मूलपत्रसँग बताएका छन् । इजरायलमा करिब ५ हजार ६ सय नेपाली कार्यरत छन् । यो सरकारले पठाएका कामदार हुन् । योभन्दा बाहेकको विषयमा आफुलाई जानकारी नभएको उनको भनाइ छ ।
भारतीय राहदानी लिएर केही कामदार इजरायल पुगेको सूचना पाएको गत वर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीले समेत बताएका थिए । सरकारी तवरबाट इजरायल कामदार पठाउन बन्द गरे पनि दलालमार्फत नेपाली कामदार त्यहाँ गइरहेको उनको भनाइ छ ।
गत वर्ष क्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायल र त्यहाँको छिमेकी देशमा रहेका अतिवादी समूहबीच तनाव बढ्दै गएको थियो । त्यति बेला नेपालले कामदार पठाउन बन्द गरेको थियो ।
युद्धका कारण इजरायल सरकारले कामदार पठाउन बन्द गरे पनि प्रतिकामदार १७–१८ लाख तिरेर गएको श्रम मन्त्रालयकै उच्च कर्मचारीले सार्वजनिक कार्यक्रममा बताएका थिए ।
इजरायल–हमास युद्ध चलिरहेका बेला भारत हुँदै १ हजार ७ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि इजरायल पुगेको पाइएको श्रम मन्त्रालयमा सूचना समेत भारतस्थित नेपाली दूतावासले दिएको थियो । तर श्रम मन्त्रालयले यस विषयमा केही गर्न सकेन ।
इजरायल र लेबनानबीच हुन सक्ने युद्धलाई दृष्टिगत गरेर गत असोजमा इजरायलस्थित नेपाली दूतावास र लेबनान हेर्ने कायरो दूतावासले सुरक्षित हुन त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको थियो । इजरायल र लेबनानबाट एक हजारभन्दा बढी नेपालीले स्वदेश फर्किन फाराम भरे पनि अन्तिममा युद्धविराम भएपछि उतै बसेका छन् ।