आईपीओको नाममा ठगी हुने गरेकोले दिए लगानीकर्ताले चेतावनी
काठमाडौं । नेपालमा पछिल्लो समय जलविद्युत प्रवर्द्धक कम्पनीहरूमाथि लगानीकर्ताहरू आक्रोशित बनेका छन्। उनीहरूले नाफा नकमाएका, नकारात्मक नेटवर्थ भएका कम्पनीलाई सार्वजनिक सेयर निष्काशन गर्न दिने प्रवृत्तिविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघले विभिन्न राजनीतिक दल र निकायमा दबाब दिँदै घाटामा रहेका जलविद्युत कम्पनीहरूलाई पनि आईपीओ निकाल्न अनुमति दिन माग गरिरहेका बेला लगानीकर्ता संघहरू विरोधमा उत्रिएका हुन्।
धितोपत्र बजारमा आईपीओमार्फत पूँजी जुटाउनु स्वाभाविक प्रक्रिया हो। तर, ूनेगेटिभ नेटवर्थू अर्थात् सम्पत्ति भन्दा ऋण बढी भएको कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारण लगानीकर्ताले अत्यधिक जोखिम सामना गर्नुपर्छ। यस्तो अवस्थामा कम्पनीले आगामी दिनमा नाफा कमाउने ग्यारेन्टी हुँदैन, बरु घाटा थपिने सम्भावना प्रबल हुन्छ।
![]() |
![]() |
![]() |
|---|
‘धितोपत्र बोर्डले यस्ता कम्पनीलाई आईपीओ अनुमति दिँदा हामीजस्ता आम लगानीकर्ताले घाटामा सेयर किनेर पैसा डुबाउनु पर्ने अवस्था आउँछ,’ लगानीकर्ता रोहन कार्की भन्छन्, ‘पुँजी बजार ठगी गर्ने थलो होइन।’
आईपीओ जारी गर्दा संस्थापक सेयरहरूमा सामान्यतया तीन वर्षको लकइन अवधि हुन्छ, जसमा ती सेयर बजारमा बिक्री गर्न पाइँदैन। तर, लकइन अवधि समाप्त भएपछि ती संस्थापकहरूले ठूलो मात्रामा सेयर बजारमा फाल्दा मूल्यमा एकाएक गिरावट आउँछ।
दोस्रो बजारका लगानीकर्ता मारमा पर्छन्, किनभने उनीहरूले खरिद गरेको मूल्य भन्दा कममा सेयर झर्दा घाटा बेहोर्नुपर्छ। कम्पनीको छवि र बजार विश्वासमा गिरावट आउँछ, जसले आगामी सेयर निर्गमलाई समेत असर गर्छ।
Image Source: © https://mulpatra.com
लगानीकर्ताहरूले अर्को गुनासो पनि राखेका छन्, हकप्रद सेयरको दुरुपयोग। सीमित संस्थापकले मात्रै खरीद गर्न सक्ने गरी हकप्रद ल्याइन्छ, जसलाई बहाना बनाएर बजारमा सेयर मूल्य कृत्रिम रूपमा बढाइन्छ र त्यसपछि संस्थापकहरू बाहिरिन्छन्।
‘कम्पनीले पूँजी जुटाउने नाममा सीमित व्यक्तिको स्वार्थमा बजार चलाइरहेको देखिन्छ,’ इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्।
नेप्से र सीडीएससीले आईपीओ गएका कम्पनीलाई एउटै आइएसआइएन दिने प्रक्रिया रहेको छ। यसले संस्थापक र सर्वसाधारणबीच भेदभाव मेटाउँछ, र लकइन सेयर पनि अन्य सेयर जस्तै देखिने हुँदा ठगीको मौका बढ्छ भनेर लगानीकर्ताहरुले आरोप समेत लगाएका छन । उनीहरूले संस्थापक सेयर र सर्वसाधारण सेयर छुट्याएर दुईवटा आईजीन कोड दिने व्यवस्था गर्न माग गरेका छन्।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले लगानीकर्ताको चिन्तालाई सम्बोधन गर्दै भने, ‘अबको नीतिहरू लगानीकर्ता मैत्री बन्नेछन्, विकृति रोक्न कडा कदम चालिन्छ।’ उनले बोर्डको उद्देश्य लगानीकर्ता संरक्षण र दीर्घकालीन स्थिरता भएको स्पष्ट पारे।
माथिका समस्या समाधानमा उपायहरु खोज्न सकिने र निम्न उपाय अपनाए तत्कालका लागि समस्या समाधान हुने ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष सन्तोष मैनालीले बताएका छन । कम्पनीको नेटवर्थ र नाफा अवस्थाको आधारमा आईपीओ स्वीकृति दिनु। लकइन अवधिपछि संस्थापक सेयरमा ग्र्याजुअल रिलीज नियम ल्याउने। हकप्रद सेयरमा स्वतन्त्र मूल्यांकन समिति बनाउने। डबल आइएसआइएन को व्यवस्था अनिवार्य बनाउने। लगानीकर्तालाई सचेत र जिम्मेवार बनाउने सूचना प्रवाह सुधार ल्याउन समेत उनको सुझाव छ ।
नेपाली पुँजी बजार अहिले विस्तारको चरणमा छ। यस्तै अवस्थामा बजारमा विश्वास र पारदर्शिता कायम राख्न धितोपत्र बोर्ड, नेप्से, र सरकारको नीति कडा र स्पष्ट हुन आवश्यक छ। हिजोआजको परिस्थितिले देखाएको छ—आम लगानीकर्ताको विश्वास गुम्यो भने पुँजी बजारमै संकट आउन सक्छ।



