Close

Recent Posts

इरानबाट नेपाली भन्छन्:अहिलेसम्म जसोतसो बाँचिएको छ, भरे के हुन्छ थाहा छैन्

इरानबाट नेपाली भन्छन्:अहिलेसम्म जसोतसो बाँचिएको छ, भरे के हुन्छ थाहा छैन्
  • ९ असार २०८२, सोमबार १३:०९

काठमाडौं–इरानको राजधानी तेहरानबाट ११ जना नेपाली आइतबार राति इरानस्थित भारतीय दूतावास पुगेका छन् । भारतस्थित नेपाली दूतावासले उद्धार गर्ने भएपछि उनीहरु मसद पुगेका छन् ।

mulpatra

दोहास्थित नेपाली दूतावासका अनुसार ११ जना नेपालीसँग समन्वय भइरहेको छ । उनीहरू ८ देखि २४ वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए । इरानको तेहरानमा अझै ५ जना नेपाली जेलमा रहेका छन् ।

ती नेपालीहरुले करिब ७ सय किलोमिटरको यात्रा पार गर्दै इरानको अर्को सहर मसद पुगेको उनीहरुले बताएका छन् । मसद पुग्नेमा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा, उनकी श्रीमती गायत्री कार्की थापा, बुटवलका विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, गणेश पोखरेल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल रहेको उदयपुरका हरि थापाले मूलपत्रलाई जानकारी दिए ।
इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएपछि स्वदेश फर्किन यति लामो यात्रा गरेको उनले बताए । ‘अमेरिकाले गरेको आक्रमणले इरान ध्वस्त भएजस्तो लाग्छ । दुई दिन त बम र मिसाइलको मात्र आवाज सुनियो । हामी बाचिँएला जस्तो लागेको थिएन । तर जसोतसो अहिलेसम्म बाचिँएको छ ।’ उनले भने ।

इरानमा केही नेपाली कार्यरत छन् । उनीहरु स्वदेश फर्किन सक्ने अवस्था नभएको उनको भनाइ छ । उनका अनुसार भारतले हामीलाई प्राथमिकतामा राखेर पठाउने आश्वासन दिएपछि यहाँसम्म आएर उडानको प्रतीक्षामा बसेको उनले जानकारी दिए । अमेरिकाले आक्रमण गरेपनि इरान सुनसान छ । यहाँ कतिबेला के हुन्छ थाहा नभएको उनको भनाइ छ । दुई सातादेखि त्रासका कारण राम्रो गरी नसुतेको उनले बताए ।

इरानमा करिब १५ हजार जति नेपाली तेस्रो देश हुँदै गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ । तर यसको आधिकारिक तथ्यांक सरकारसँग छैन ।