कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल आक्रमण, नेपाली दूतावासले सतर्क रहन आग्रह

काठमाडौँ । इरान इजरायल युद्धमा अमेरिका होमिएपछि इरानले सोमबार राति कतारमा रहेको अमेरिकी सैन्य अड्डा ‘अल उदैद एयर बेस’ मा मिसाइल प्रहार गरेको छ । अमेरिकी बम बर्षक विमानहरुले इरानको परमाणु केन्द्रहरुमा आक्रमण भए पछि इरानले त्यसको प्रतिकार स्वरुप अमेरिकी वेस क्याम्पमा आक्रमण गरेको जनाएको छ । यता इरानले मिसाइल प्रहार गरेको पुष्टि भएपछि खाडी क्षेत्रमा सुरक्षा स्थिति तनावग्रस्त बनेको छ। बिबिसी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इरानी आक्रमण अमेरिकाले इरानका आणविक केन्द्रहरूमा गरेको हमलाको प्रतिकारस्वरूप भएको जनाएका छन् ।
कतार सरकारले आक्रमण पुष्टि गर्दै यसलाई आफ्नो सार्वभौमिकताको उल्लंघन भनेको छ। आवश्यक परे उचित प्रतिक्रिया जनाउने अधिकार सुरक्षित रहेको पनि कतारी पक्षले जनाएको छ। हालसम्म मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन।
इरानी हमलापछि कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ र अमेरिकी तथा बेलायती नागरिकलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिएको छ। राजधानी दोहाबाट करिब ५०–६० किलोमिटर टाढा, सलबा रोड नजिकै अवस्थित अल उदैद एयर बेसमा करिब १० हजार अमेरिकी सैनिक तैनाथ छन्। सन् १९९६ मा स्थापना भएको यो आधार क्षेत्र अमेरिकाको सेन्ट्रल कमाण्डको मुख्यालयसमेत हो।
कतारको अमेरिकी सैन्य वेस क्याम्पमा आक्रमण भएपछि दोहास्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै दूतावासले शान्तपूर्वक यथास्थानमै बस्न, अफवाहमा नपर्न र कतारी सरकारका आधिकारिक निर्देशनहरूको पालना गर्न अनुरोध गरेको हो।
कतारमा झन्डै चार लाख नेपाली कामदार तथा बसोबास गर्नेहरू रहेको अनुमान छ। यो घटनाले उनीहरूमा चिन्ता थपिएको छ।