माधव नेपालको पक्षमा वकालत गर्न १२० वकिलको तँछाड–मछाड, ३५ ले मात्र पाउने

काठमाडौं– पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणमा संलग्नता विषयक मुद्दामा विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षमा बहस गर्न १२० जना कानुन व्यवसायीले नाम दर्ता गराएका छन् ।
यद्यपि, सबै वकिलले बहस नगरी, करिब ३५ जनाले मात्रै प्रत्यक्ष रुपमा कानुनी तर्क प्रस्तुत गर्ने बताइएको छ । अब अदालतमा थुनछेक बहस सुरु हुनेछ। नेपालका पक्षबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दी नेतृत्वमा १२० जना वकिलले बहसका लागि नाम टिपाएका छन् ।
बुधबार विशेष अदालत, काठमाडौंमा हाजिर भएका नेपालले तीन सदस्यीय इजलास—न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको सामुन्ने बयान दिएका हुन्। उनको बयान प्रक्रिया सम्पन्न भइसकेको छ ।
नेपाल पक्षका वकिलहरू आजै थुनछेक बहस सम्पन्न गर्ने तयारीमा छन्। यदि बहस आजै सकिएन भने अदालतले निर्णयस्वरूप नेपाललाई तारेखमा राख्ने या थुनामा पठाउने व्यवस्था मिलाउनेछ ।