माधव नेपाललाई झाँक्रीले मरेको सिनो भनेपछि एसमा खैलाबैला, युवा नेताको चेतावनी

माधव नेपाललाई झाँक्रीले मरेको सिनो भनेपछि एसमा खैलाबैला, युवा नेताको चेतावनी
  • १५ असार २०८२, आईतवार १२:३६

बुटवल– नेकपा (एस) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव नेपाललाई लक्ष्यित गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ कडा अभिव्यक्ति दिएकी छन् ।

mulpatra

नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले शनिबार पार्टीलाई अब पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । यसका लागि ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् । उनले हिजो गरेको सो भाषणले नेकपा एसभित्र खैलाबैला सुरु भएको छ ।

झाँक्रीको आक्रामक अभिव्यक्ति

पार्टी बनाउने….यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न…।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्ट प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसलाई लिएर नै झाँक्रीले ‘अध्यक्षकै कारण संकट आएको’ बताएकी हुन् ।

युवा संघकी केन्द्रीय नेतृ तथा नेकपा एस गोरखाकी अगुवा रेखा तामाङ लोप्चनले आफ्नो फेसबुक वालमा झाँक्रीको भिजुअल अपलोड गरेपछि यो विषय बाहिरिएको हो । अहिले झाँक्रीको अभिव्यक्तिलाई लिएर एसका युवा नेताहरुले विरोध गर्न थालेका छन् ।

युवा नेताको आक्रोस

नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूका पूर्वअध्यक्ष समेत रहेका युवा नेता सुदेश पराजुलीले उनको अभिव्यक्तिलाई ‘विक्षिप्त मानसिकताको पराकाष्टा’ संज्ञा दिए ।

उनले फेसबुकमा लेखेका छन्ः लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्टा छरपस्ट भएछ । हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा परेर, कहिले सामाजिक दुनियाँलाई प्रयोग गरेर, कहिले नक्कली स्टन्टबाजी गरेर उदय भएको हो । कहिले पदका निम्ति जस्तो सुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नु पर्दा रुवावासी यो मानसिकताको विशेष गुण हो ।’

यस्तै, नेकपा एसनिकट प्रेस संगठनका केन्द्रिय सदीय दिपक अनुरागीले माधव नेपालको राजीनामा माग्ने कुचेष्टा नगर्न झाँक्रीलाई चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘कमरेड रामकुमारी झाँक्री– पार्टी गठन यता तपाईंका अनेकौं तर्कना सुन्यौं । कमरेड तपाईंबाट पार्टी बन्दैन, बनेको पार्टीमा चर्का भाषण गर्ने आधार समाजवादीमा बनिसकेको छैन । त्यसो हुँदा जुनसुकै तर्कना तपाईंले गरेपनि समाजवादी पार्टी कमरेड माधवकुमार नेपाल बाहेक अरुले बनाउन सक्दैन । हजारौं समाजवादी कार्यकर्ताको मनोभावना जित्छु, लाखौं बाहिरी व्यक्तिको समर्थन पाउँछु भन्ठानेर माधवकुमार नेपालको राजीनामा माग्ने कुचेष्टा नगर्नुस् ।’

यसैगरी नेकपा एसका पूर्व प्रचार विभाग सदस्य सूर्य बिसीले जनतासँग चुनाव हार्ने र पार्टीको महाधिवेशनमा पनि कार्यकर्तासँग हार्नेले ठूलो कुरा गर्ने ? भन्दै झाँक्रीप्रति आक्रोश पोखेका छन् ।

उनले लेखेका छन्, ‘पतञ्जलीको जग्गा बेच्ने दलाललाई कारबाही गर्नुको साटो माधव बाबुलाई फसाउन बदनाम गराउन खोजेको तिमीलाई थाहा छैन ?’