भुटानलाई २९८ रनले पराजित गरेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं – उमेर समूह क्रिकेटबाट एक होनाहार ब्याट्सम्यानको उदय भएको छ, रौनक श्रीवास्तवका रूपमा । एसीसी यु १६ इस्ट जोन अन्तर्गतको म्याचमा आज उनले नेपालका लागि कीर्तिमानी प्रदर्शन गरे ।
भुटानविरुद्धको म्याचमा एक्लै १६८ रन जोड्दै रौनकले नेपालका लागि अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक व्यक्तिगत योगफलको कीर्तिमान बनाएका हुन् । कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय म्याचमा नेपाली ब्याट्सम्यानले बनाएको यो उच्च व्यक्तिगत स्कोर हो । यसअघि यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो । उनले एसीसी यु १९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४२ रन बनाएका थिए ।
यसअघि कुनै पनि उमेर समूहको क्रिकेटमा नेपाली ब्याटरले १५० को व्यक्तिगत आँकडा पार गर्न सकेका थिएनन् । राष्ट्रिय टीमबाट सर्वाधिक रनको कीर्तिमान भने कप्तान रोहित पौडेलको नाममा छ । उनले २०७८ सालमा पपुवा न्यूगिनीविरुद्ध १२६ रन बनाएका थिए ।
आजको खेलमा नेपालको प्रतिद्वन्द्वी भुटान कमजोर टीम हो । यद्यपि, नेपालले खराब सुरूवात गर्दै १७ रनमै दुई विकेट गुमाएको थियो । चौथो नम्बरमा आएका १५ वर्षीय रौनकले बडो परिपक्व तरिकाले ब्याटिङ गर्दै नेपाललाई मजबुत स्कोरमा पु¥याए । उनी अन्तिम ओभरमा छक्का हान्न खोज्दा आउट भए । रौनकले आफ्नो म्याराथन इनिङमा ५ छक्का र १६ चौका प्रहार गरेका थिए । उनको ब्याटिङमा संयम र आक्रामकताको मिश्रण थियो । एउटा राम्रो टप अर्डर ब्याट्सम्यानको परिचय दिँदै उनले खराब बलहरुलाई दण्डित गरे भने राम्रा बलहरूसँग जोगिएर खेले ।
रौनकले परिस्थितिको मागअनुसार ब्याटिङ गरेका थिए । सुरुवातीरुपमा उनले कुनै जोखिम नउठाइकन खेले । स्ट्राइक रोटेटमा ध्यान दिए । सुरूको ५० रन बनाउन उनले ५० बल नै खर्चिएका थिए । दोस्रो ५० रन जोढ्न उनले ४५ बल खपत गरे । ९५ बलमा शतक हानेका रौनकले त्यसपछि भने परिस्थितिको माग अनुसार विष्फोटक रुप धारण गरे । पछिल्लो ६८ बल उनले केवल ३७ रनमा जोडेका थिए । श्रीवान्स बजगाईं, सुगम बुढाथोकी र जोय थापासँग मिलेर उनले नेपाललाई सुदृढ स्कोरमा पु¥याए । रौनक र जोयबीच १७० रनको म्याराथन साझेदारी भएको थियो ।
अन्तिम ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने प्रयास गर्दा क्याचआउट भए रौनक । आउट हुनुअघि उनको ब्याटबाट १६ चौका र ६ छक्का निस्किए । उनले १०० रन बाउन्ड्रीबाट र ६८ रन दौडिएर लिएका थिए । अफसाइड र अनसाइड दुवैतर्फ उनी उत्तिकै मजबुत देखिए । रनिङ विटविन द विकेटमा भने अझै मिहिनेत गर्नुपर्ने आवश्यकता छ ।
रौनकले आफ्नो प्रतिभाको छनक यसअघि घरेलु यू १६ प्रतियोगितामा दिएका हुन् । टीबी साह मेमोरियल यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत गत जेठ २५ गते भएको म्याचमा उनले लुम्बिनीबाट खेल्दै गण्डकीविरुद्ध दोहोरो शतक प्रहार गरेका थिए । कुनै पनि उमेर समूहको राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोहोरो शतक हान्ने पहिलो ब्याट्सम्यान बनेका थिए रौनक । केबल ११७ बलमा १६ छक्का र १५ चौकासहित २१७ रन जोडेका थिए उनले । यही प्रदर्शनले उनलाई राष्ट्रिय यू १६ टीममा छनोट गराएको हो ।
जारी एसीसी यू १६ प्रतियोगितामा रौनकले तीन इनिङ ब्याटिङ गर्दा ९८.६६ को औसतमा २९६ रन जोडिसकेका छन् । उनको स्ट्राइक रेट पनि निकै राम्रो छ । सिंगापुरविरुद्ध पहिलो खेलमा उनले ४४ बलमा ४० रन बनाएर टीमको जितमा योगदान दिएका थिए । दोस्रो खेलमा उनको ब्याटिङ गर्ने पालो आएन । जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले एक विकेटमै भेट्टाएको थियो । इन्डोनेसियाविरुद्धको तेस्रो खेलमा उनले ७१ बलमा ८८ रनको आक्रामक इनिङ खेले । यो म्याचमा नेपालले ४२० रनको पहाड खडा गरेको थियो ।
त्यसो त यो प्रतियोगितामा नेपालका प्रतिद्वन्द्वीहरू कमजोर भएकाले हरेक खेलहरू एकतर्फी भइरहेका छन् । सिंगापुरविरुद्धको पहिलो खेल तुलनात्मकरूपमा प्रतिस्पर्धात्मक थियो, जहाँ नेपालले ६ विकेटका जित निकाल्यो । त्यसपछिका तीन खेलमा भने नेपालले प्रतिद्वन्द्वीहरुलाई कुनै पनि मौका दिएको छैन । जापानलाई ८० रनमा अलआउट गरेको नेपालले एक विकेटमै लक्ष्य भेटेको थियो । तेस्रोमा इन्डोनेसिया नेपालको ब्याटिङ र बलिङको अगाडि निरिह बन्यो । नेपालले पहिले ब्याटिङ गर्दै ४२१ रनको पहाड खडा गर्दा इन्डोनेसियाले ५० रन मात्रै जोड्न सकेको थियो ।
शतप्रतिशत जितसहित नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सेमिफाइनलमा नेपालको भिडन्त हुनेछ आयोजक मलेसियासँग । यो म्याच केही हदसम्म प्रतिस्पर्धात्मक बन्ने आशा राख्न सकिन्छ । यद्यपि, नेपाल उपाधिकै बलियो दावेदार हो । नेपालले सम्भवत उपाधिका लागि फाइनलमा हङकङसँग भिड्नुपर्ने हुन सक्छ ।
प्रतियोगितामा नेपालको बलिङ र ब्याटिङ दुवै उस्तै गतिमा चलिरहेका छन् । ब्याटिङतर्फ नेपालका ओपनर प्रसिद्ध जैसी उत्कृष्ट लयमा छन् । उनले इन्डोनेसियाविरुद्ध १३२ रन बनाएका थिए । बलिङमा कप्तान विपीन शर्माले नेतृत्व लिइरहेका छन् । उनको घातक बलिङ झेल्न कुनै पनि टीमलाई सहज छैन । नेपाल प्रिमियर लिग (एनपीएल) बाट उदाएका विपीनले यो प्रतियोगितामार्फत आफ्नो क्षमताको पुनःपुष्टि गरिदिएका छन् । उनले चार खेलमा नेपालका लागि १५ विकेट लिइसके ।
‘फाइन्ड अफ द टुर्नामेन्ट’ चाहिँ रौनक नै हुन्, जसको ब्याटिङले भविष्यका लागि निकै आशा जगाएको छ । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा उनी नेपालकै प्रसिद्धलाई उछिन्दै पहिलो नम्बरमा उक्लिएका छन् ।