Close

Recent Posts

कुलिङ पिरियड प्रकरण – विशेष समिति गठनको तयारी

कुलिङ पिरियड प्रकरण – विशेष समिति गठनको तयारी
  • २१ असार २०८२, शनिबार २१:०६

काठमाडौँ । निजामती सेवा विधेयक पास गर्ने क्रममा थपिएको कुलिङ पिरियड बारेको विवादास्पद शब्दले सदन, सामाजिक सन्जाल र सम्पूर्ण मिडिया तातिरहेको बेला त्यसमा देखिएको त्रुटिको छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गरिने भएको छ।

mulpatra

शनिबार सिंहदरबारमा सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको प्रमुख सचेतकहरूको बैठकले उक्त निर्णय गरेको हो। जसमा कांग्रेस र नेकपा एमालेबाट दुई/दुई जना सदस्य रहनेछन् भने बाँकी तीन जना अन्य दलबाट चयन गरिनेछ।

समितिमा राज्य व्यवस्था तथा सुशासन समितिका वर्तमान सदस्यहरूलाई भने राखिने छैन । दलहरूले सदस्यको नाम सिफारिस गरेपछि समिति औपचारिक रूपमा गठन हुनेछ। समितिलाई २१ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समय दिइएको छ।

mulpatra mulpatra mulpatra

निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्षसम्म सरकारी वा संवैधानिक पदमा नियुक्त गर्न नपाइने व्यवस्था समितिले विधेयकमा समावेश गरेको थियो। तर, प्रतिनिधिसभाबाट पारित संस्करणमा उक्त प्रावधान निष्क्रिय हुने खालको अर्को व्यवस्था समावेश भएको देखिएपछि विवाद चुलिएको थियो।

समितिमा हंगामा भएपछि स्वयं समितिका सभापतिले सभामुख घिमिरेसमक्ष छानबिनका लागि पहल गर्न अनुरोध गरेका थिए। अब गठन हुने विशेष समितिले विधेयक निर्माण र संशोधन प्रक्रियामा भएको सम्भावित गल्ती वा नियोजित प्रयासबारे छानबिन गर्नेछ।

यो प्रकरणले विधेयक निर्माण प्रक्रियामा पारदर्शिता र उत्तरदायित्वको प्रश्न उठाएको छ। प्रतिवेदनपछि मात्र दोषी को हुन् र गल्ती किन भयो भन्ने प्रष्ट हुनेछ।

Image Source: © https://mulpatra.com