सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी, संघीय समर्थन फिर्ता
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्।

नाउपाको आजको बसेको संसदीय दलको बैठकले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका नाउपाका सांसद अरुणकुमार चौधरीले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी रहेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।
यसअघि नाउपाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि समर्थन फिर्ता लिएको थियो। प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका पार्टी नेता रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पावर टिलर वितरणमा अनियमितता र पदाधिकारी नियुक्तिमा चलखेलको आरोप लगाउँदै बर्खास्त गरेपछि पार्टी असन्तुष्ट बनेको थियो।
![]() |
![]() |
![]() |
|---|
प्रतिनिधिसभामा नाउपाका चार जना सांसद छन्। समर्थन फिर्ता लिँदा संघीय सरकारको बहुमतमा तत्काल असर नपर्ला तर आगामी राजनीतिक समीकरणमा यसको प्रभाव पर्न सक्ने विश्लेषण गरिँदैछ। नाउपाको पछिल्लो कदम सत्तारूढ गठबन्धनमा चिसोपन ल्याउने संकेतका रूपमा हेरिएको छ।



