कांग्रेस अनुशासन कारबाहीप्रति इतर समूह असन्तुष्ट, आज बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस पार्टीको अनुशासन समितिले हिजो गरेको कारबाहीको प्रतिक्रियामा आज कांग्रेसभित्रको इतर समूहले आपत्ति जनाउँदै विशेष बैठक बसेको छ।

अनुशासन समितिले हिजो पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हालिरहेका नेता, कार्यकर्तालाई एक वर्षका लागि पार्टीबाट निष्काशन गरेको थियो। निष्काशनमा परेका नेताहरूमा तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका जिल्ला सभापति विष्णुकुमार राई र पर्सा–१ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता लगायतका रहेका छन् ।
पार्टीले उनीहरूमाथि अनुशासनहीन गतिविधिमा संलग्न भएको आरोप लगाएको छ। तर राजनीतिक वृत्तमा यो कारबाहीलाई एकतर्फी र शेखर कोइराला निकट नेताहरूमाथि लक्षित गरिएको भन्ने चर्चा चलेको छ।
![]() |
![]() |
![]() |
|---|
यही पृष्ठभूमिमा आज इतर समूहको आकस्मिक बैठक बसिरहेको छ। बैठकमा कारबाहीको औचित्य, निष्पक्षता र यसले पार्टी एकतामा पार्ने सम्भावित असरबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।
शेखर कोइराला समूहका नेताहरूले अनुशासन कारबाहीको निर्णयलाई गम्भीर रूपमा लिएका छन् र यस विषयमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा संवाद गर्ने तयारीमा रहेको बताइएको छ।
पार्टीभित्र शक्ति सन्तुलन र आगामी महाधिवेशनलाई मध्यनजर गर्दै गरिएको यो कारबाहीले कांग्रेसमा आन्तरिक विवादलाई थप चर्काउने अनुमान गरिएको छ।
बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार नेताहरु बलबहादुर केसी सञ्जय गौतम र मन्त्रीहरू सहभागी रहेको श्रोतले जानकारी दिएको छ ।
Image Source: © https://mulpatra.com



