संसद्मा रास्वपा–राप्रपाबमे एउटै स्वर: अरू मन्त्री पनि पोलिएका छन्, छानबिन होस्

काठमाडौं– प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ’घुस डिल’ प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिएको भए पनि उनीमाथि छानबिन गरेर कारबाही गर्नुपर्ने माग गरेका छन् ।
मंगलबार प्रतिधिसभाको बैठकमा बोल्दै उनीहरुले अन्य मन्त्रीहरू पनि पोलिएको भन्दै उनीहरूमाथि पनि छानबिनको माग गरे ।
बैठकमा रास्वपाका सांसद शीव नेपालीले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले आफूमाथि लागेको गम्भीर आरोपका सन्दर्भमा राजीनमा दिनु भएको छ। तर, यतिले मात्र हुँदैन । अरु मन्त्रीहरू पनि पोलिएका छन्। यो गम्भीर विषयमा सत्य तथ्यको छानबिन होस् र दोषीउपर सक्त कारबाही यथाशीघ्र होस् । ’
त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजीनामा दिएका मन्त्री राजकुमार गुप्तालाई तत्काल गिरफ्तार गरेर कारबाही गर्नुपर्ने माग गरे ।
‘मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छ?,’ उनको प्रश्न छ, ‘मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्। त्यतिमात्रै होइन, अन्य मन्त्रीहरूको पनि नाम आएको छ । उनीहरूको पनि छानबिन गरियोस्।’