स्पेन प्रकरणबारे छानबिन गर्न सीआईबीका एसएसपीको नेतृत्वमा समिति गठन
काठमाडौं– स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ ।

यसअघि सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो मामिलाको छानबिन प्रहरीमार्फत अघि बढाउने निर्णय भएको थियो ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समितिमा छन् ।
समितिमा ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।
प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल लगायत सहभागी बैठकले असम्बन्धित व्यक्तिहरु समेत गएको हुनसक्ने निष्कर्ष निकालेको थियो ।
स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरु विदेश पठाएको हुनसक्ने देखिएपछि त्यो अवधिमा भिजिट भिसामा जाने सबैको विवरण जाँच गर्नुपर्ने छलफलका क्रममा राय आएको थियो ।
१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेनका लागि उडेकै विमानमा पनि कतिपयलाई विचौलियाले मड्रिड लगेका थिए । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा गैरसरकारी संस्थातर्फबाट सहभागिताका भन्दै उनीहरुको नाम वेवसाइटमार्फत रजिष्ट्रेसन गराइएको थियो ।
पछि भिसा लिएकाहरुको पृष्ठभूमि शंकास्पद देखिएपछि ५५ जनाको सूची एयरलाइन्सका कर्मचारीहरुलाई पठाइएको थियो भने उनीहरुलाई रोक्न भनिएको थियो । त्यसदिन खानेपानी मन्त्री प्रदीप यादवसहित केही अधिकारीहरु सोही कार्यक्रममा सहभागी हुन स्पेन प्रस्थान गर्दै थिए ।
