राष्ट्र बैंकमा ७ खर्ब थुप्रियो, कर्जा लगानी सुस्त

राष्ट्र बैंकमा ७ खर्ब थुप्रियो, कर्जा लगानी सुस्त
  • ३१ असार २०८२, मंगलवार १८:२६

काठमाडौं–आर्थिक वर्षको एकदिन अघिसम्म वित्तीय प्रणालीको करिब ७ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकमा थुप्रिएको छ । आव अन्तिम महिना कर्जा लगानी करिब ठप्प नै हुन्छ । असुलीका कारण निक्षेपमा वृद्धि हुने भएकाले अधिक तरलताको अवस्था हुने गर्छ ।

mulpatra

आव अन्त्यमा समान्यतया बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुन्छ, अधिक तरलता भएपछि अन्तरबैंक दर घट्ने भएकाले केन्द्रीय बैंकले खिच्छ । साथै, यो अवधिमा कर्जा लगानी समेत सुस्त छ । त्यसले गर्दा मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७ खर्ब बराबरको तरलता छ ।

चालु आव ३१ असारसम्म वित्तीय प्रणालीको ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ अधिक तरलता खिचेर राखेको छ । उक्त रकममध्ये ३ खर्ब ७७ अर्ब निक्षेप संकलन उपकरणको हो भने बाँकी ३ खर्ब १५ अर्ब स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । त्यसैगरी सोमबारसम्म वित्तीय प्रणालीमा करिब ६९ अर्ब तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव मंगलबारसम्म केन्द्रीय बैंकले खिचेको वित्तीय प्रणालीको तरलता गत आवको तुलनामा दोब्बर हो । गत आव असार अन्तिममा ३ खर्ब ५५ अर्ब रुपैयाँ अधिक तरलता भएको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भए पनि अन्तर बैंकदर बढ्ने–घट्ने तथा ब्याजदरमा असर गर्ने भएकाले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ । चालु आव पनि निर्यात बढेको, रेमिट्यान्स बढेको र सँगसँगै असुलीमा समेत सुधार आएका कारण अधिक तरलताको अवस्था बनेको हो ।

चालु आवमा अर्थतन्त्रका सबै सूचकमा सुधार आउने तर आर्थिक गतिविधि सुस्त हुँदा पनि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रह्यो । साथै, कर्जाको माग पनि अर्थतन्त्रका कारण अपेक्षित बढ्न सकेको छैन ।