एमालेमा भण्डारी फर्किदा ओलीलाई चुनौती दिन कति सम्भव ?

काठमाडौं– नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय राजनीतिक भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागिता बढाउन थालेकी छिन् ।
बुधबार भण्डारी बूढानीलकण्ठ नगरपालिकाको वार्षिक नगर विकास योजना तथा आगामी आवको आर्थिक सर्वेक्षण तथा ०८१/८२ को सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भइन ।
बूढानीलकण्ठ क्षेत्रबाट २०६४ सालको संविधान सभा निर्वाचनमा कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजित भएपछि भण्डारी प्रत्यक्ष निर्वाचनमा सहभागी छैनन् । भण्डारी सोही क्षेत्रबाट २०५०,२०५१ र २०५६ सालमा तीनपटक सांसद निर्वाचित भएकी हुन् ।
भण्डारीले पछिल्लो समय देशभर पुगेर नेता कार्यकर्ताको भावना बुझेरै एमाले फर्किएको देखिन्छ । एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाबारे चर्को बहस भइरहेकै बेला उनको इन्ट्री भयो । यी दुई व्यवस्था कायम भए ओली आगामी नेतृत्वको दौडबाट स्वतः बाहिरिनेछन् । तर तत्काल ओली यो व्यवस्था लागू हुन दिने पक्षमा छैनन् । ओलीनिकट नेताहरूले दुई व्यवस्था हटिसकेको दाबी गर्दै आएका छन् ।
राजनीति गरेर सांसद, मन्त्री र पार्टीको उपाध्यक्ष दुई पटक भइसक्नु भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिकमा आउनु नौलो कुरा नभएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीको बुझाइ छ ।
एमालेमा फर्केर देशको सेवा गर्छु भन्ने उहाँको स्वतन्त्रता भएका कारण यस विषयमा बढी चर्चा गर्नुपर्ने आवश्यक नभएको उनले बताए । ‘कानून, संविधान र पार्टीको विधानमा पनि त्यस्तो व्यवस्था छैन । पार्टीमार्फत आजीवन देशको सेवा गर्न चाहन्छु भनेपछि तपाईंले गर्न पाउन्नुहुन्न, पार्टीमा आउनुहुँदैन कसैले भन्ने अधिकार छैन ।’ उनले भने ।
पूर्वराष्ट्रपतिको निर्णयलाई नकारात्मक रूपमा हेर्न नहुने उनको भनाइ छ ।
दुई साताअघि पूर्वराष्ट्रपति भण्डारी र काठमाडौं महानगरका मेयर बालेन शाहबिच भेटवार्ता भयो । यसको राजनीतिक तरङनै ल्यायो । पूर्वराष्ट्रपति भण्डारीले एमालेमा पुनरागमनको घोषणासँगै अध्यक्ष केपी ओलीलाई टक्कर दिएर भावी नेतृत्व लिन अग्रसर भइरहेको चर्चाबिच उनले बालेनसँग भेटवार्ता गरेकी हुन् ।
भण्डारीको सचिवालयबाटै निमन्त्रणा आएपछि बिहीबार बालेन भेटघाटका लागि पुगेका थिए ।
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असार १९ गते बिहान ९ बजे भंगाल निवास पुगेको चर्चा भयो । यस विषयलाई भण्डारीले नै बाहिर ल्याएकी थिइन ।
एमालेको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि श्रेष्ठ उनलाई भेट्न पुगेका थिए । त्यो पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थाहै नदिई । यस विषयमा प्रचण्डले श्रेष्ठ अमेरिका भएका बेला स्ष्पटीकरण सोधेका थिए । यसको जवाफ आउन बाँकी छ । भण्डारी एमालेको राजनीतिकबाट १२ वर्ष बाहिर रहिन ।
एमाले विधान महाधिवेशनको पनि तयारीमा छ । दस्तावेज तयार गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ । सचिवालय, पोलिटव्युरो र केन्द्रीय समितिको बैठकमा पनि छलफल भइरहेको छ । पार्टीबाट टुङ्ग्याएर विधान महाधिवेशनमा एमाले जाँदै गर्दा भण्डारीलाई कस्तो ठाँउ दिन्छ भन्ने मुख्य चासोको विषय बनेको छ ।
विधान महाधिवेशनपछि एमालेको ११औँ महाधिवेशनमा जाने हो । यो महाधिवेशनमा अध्यक्षमा केपी ओली र विद्या भण्डारी मैदान उत्रिने अनुमान राजनीतिबृत्तमा सुरु भएको छ ।
आधार जबज
जबज (जनताको बहुदलीय जनवाद) को मूल मर्म नेपालको विशिष्ट परिस्थिति अनुसार विकसित गरिएको एक राजनीतिक सिद्धान्त मानिन्छ । खासगरि कम्युनिष्ट पार्टीहरु पनि बहुदलीय प्रतिस्पर्धामा आउनु पर्छ भन्ने विचार नै जबजको सार थियो । जसको खास कुरा बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीलाई स्वीकार गर्दै समाजवाद निर्माणतर्फ अघि बढ्ने रणनीति हो र त्यसको आधार मदन भण्डारीले तयार गरेका थिए । त्यहि जबजलाई अन्तर्राष्ट्रिय रूपमा पुर्याउने एउटा आधिकारिक माध्यम आफु बन्न सक्ने भण्डारीले बताउन थालेकी छिन ।
जबजका प्रणेता मदनपत्नी पूर्वराष्ट्रपति भण्डारीले माक्र्सवाद, लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै यहाँको ऐतिहासिक सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसात गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समावेश गर्दै एउटा विशिष्ट र सिर्जनात्मक बाटो जबजले नै निर्माण गरेको दाबी गदै आएकी छिन् ।
विधान महाधिवेशनले एमालेभित्र संरचना कस्तो बन्ने हो भन्ने टुङ्गिएको छैन । तर एमालेको १० औं महाधिवेशनका प्रतिनिधि नै भदौमा हुने विधान महाधिवेशनको प्रतिनिधि हुने भनेर ओली पक्षले गरेको बठ्याईले भण्डारी झस्किएकी छिन । त्यति मात्र होइन ओलीले मदन भण्डारी फाउन्डेसको कार्यक्रममा मदन भण्डारीका विरुद्ध तत्कालिन रुपमा उठाइएका अपुष्ट समाचारलाई सम्बोधनमा समावेश गरेपछि भण्डारी आक्रोसित बन्न पुगेकी छिन् ।
भण्डारीले आफु स्वयंको नेतृत्वमा कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्ने उनको बुझाइ सहि हुन सक्छ ।
जबजले स्पष्ट गरेको सामाजिक र आर्थिक रूपान्तरणको सिद्धान्तमा आफु हिडने भण्डारीले बताउँदै आएकी छिन् । एमालेभित्र मदनकै नामको चाबी खोलेर ओलीलाई चुनौती दिन भण्डारीको योजना सफल होला त भन्ने मुख्य प्रश्न हो ।
तर अहिले एमालेभित्र जबज छ भन्ने मुख्य प्रश्नको विषय बनेको छ । स्थानीय तहसम्मै अध्ययन गर्दा पार्टी, संगठन, जनसंगठनहरु जीवन्त छैनन, भेटिएका छैनन । सिद्धान्त र आचरण पढाउन पार्टी छोडेको कारण पार्टी भित्र स्वास्र्थ समूह हावी भएको, पद नै प्रमुख हुन गएको र जसरी पनि पद ओगट्ने समूह सक्रिय रहेको भण्डारीको बुझाई रहेको उनलाई भेट्ने धेरैले बताउने गरेका छन् । जबजमा एमालेभित्र पद र शक्तिका लागि लडाई गर्नु भनेको छैन । तर अहिले एमालेभित्र जबजका नाममा लडाई भइरहेको छ ।
अहिले उनी राष्ट्रपति पदबाट बाहिरिसकेपछि फेरि राजनीतिमा फर्किकी छिन् । यसले एमालेभित्र उनको पकड कस्तो भन्ने चर्चा चलिरहेको छ । त्यसैले भण्डारीले ओलीविरुद्ध वैकल्पिक धार बनाउन खोजे भने त्यो सहज होला भन्ने एमालेभित्रै बहस सुरु भएको छ ।
भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुँदा र राष्ट्रपति बन्नुअघि ओलीनिकट नेतृको रूपमा चिनिन्थिन् । अहिले उनैले एमालेमा ओलीलाई चुनौति दिने अनुमान गर्न थालिएको छ । नेकपा एमालेको प्रदेश नेतृत्व चयन र कति पय जिल्ला चयन देखि नै ओली विरोधी अभियान जस्तै चलेको थियो । यसरी निर्वाचित अधिकांश प्रदेश प्रमुख भण्डारी निकट हुनुले ओलीले चुनौति महसुस गरिरहेका बुझ्न सकिन्छ ।
भण्डारी राजनीतिकमा आउनुका पछाडी विशेषगरी एमालेबाट पाखा लगाइएकाहरु, एमाले छाडेर स्वतन्त्र बसेकाहरुको चाहना लुकेको स्पष्ट देख्न सकिन्छ । अन्य पार्टी र बाह्यि शक्तिले समेत भण्डारी आउँदा सहज महसुस गर्ने कतिपय एमालेकै नेताहरुको भनाइ छ । यसमा नेकपा एस समेत रहेको छ । भण्डारीसँग नेकपा एसका नेता झलनाथ खनालको बाक्लो छलफलले समेत त्यसको पुष्टि गरेको छ ।
हिजोमात्र उनको व्यक्तिगत वेबसाइट सार्वजनिक गरिएको छ । विद्याले यो बीचमा विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्दै आएकी छन् । मंगलबार उनले पत्रकार भेटघाट कार्यक्रम पनि राखेकी थिइन् ।
मंगलबारबाट विद्या मदन भण्डारीको ७५ औं जयन्ती मूल व्यवस्थापन समिति गठन गरेर ‘मदन भण्डारी फाउण्डेशन’ मार्फत् देशव्यापी अभियानमा उनी होमिएकी छन् ।
भण्डारी प्रमुख संरक्षक रहेको समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने समितिमा देशैभरका विभिन्न तहका नेता कार्यकर्ता समेटिएका छन् । समितिका अधिकांश सदस्य विद्या भण्डारी एमालेको नेतृत्वमा आउनुपर्छ भनेर अभियान चलाउनेहरू छन् ।
मदन भण्डारीको नाम बेचेर एमालेले अहिलेसम्म राजनीतिक गदै आयो । तर मदन भण्डारीको हत्यारा को हो भनेर पत्ता लगाउन सकेन । यो पनि उनकै पत्नी भण्डारीमाथि अहिले उठिरहेको प्रश्न हो । उनी दुई पटक राष्ट्रपति हुँदा मदन भण्डारीको हत्यारा खोज्न किन चासो दिइनन भन्ने प्रश्न उठिरहने छ ।
भण्डारी एमालेको नेतृत्वमा आए माओवादी र नेकपा एससहितको एकताको चर्चा छ । अहिले एमाले अध्यक्ष ओलीविरुद्ध पार्टीभित्र र बाहिरबाट गतिविधि चलाइएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नै मिडियाले एमालेका बारेमा नचाहिँदो चर्चा गरेको आरोप लगाउँदै आएका छन् ।
मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले एमालेमा बम पड्कन्छ र एमाले ध्वस्त हुन्छ भन्ने सपना देखेर विरोधीहरू बसेका छन् भनेका थिए । उनले त्यहीदिन मिडियाले विद्या भण्डारी र मबीच बम पड्काइसके, एमाले ध्वस्त हुने सपना पूरा हुन नदिने घोषण पनि गरे । तर पछिल्लो समयमा ओली केही बोल्न चाहेका छैनन् ।
यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई कमजोर बनाउन खेल भइरहेको बताउँदै आएका छन् । तर एमालेलाई एमालेभित्र कमजोरी बनाउन खेल भइरहेको विषयमा उनले केही गर्न नसकेको पार्टी पार्टी भित्रै आरोप छ ।
ओलीले राजनीतिमा आउने पूर्वराष्ट्रपति विद्या भण्डारीको घोषणाले पार्टीमा ध्रविकरण बढाएको बताएका छन् । च्यासलमा जारी नेकपा एमाले सचिवालय बैठकमा ओलीले यस्तो ध्रुवीकरण रोक्न सबै एकतावद्ध हुनुपर्ने समेत धराणा राखे ।
‘उहाँको प्रवेशले पार्टीभित्र ध्रुविकरण बढायो,’ ओलीको भनाइ छ, ‘हामीले गणतन्त्र गौरवका रुपमा उहाँलाई सम्मान गरेका थियौं, त्यसबेलासम्म उहाँ राजनीतिमा आउने कुनै छेकछन्द थिएन । उहाँले पार्टीमा आउने औपचारिक घोषणा मात्र होइन, अध्यक्ष मै आउने घोषणा गरिसक्नु भएको छ । पार्टीभित्र ध्रुविकरण रोक्न एकताबद्धरुपले जानुपर्छ । अब संस्थागत निर्णयको बेला आयो ।’
पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरिसकेकी छिन् । आफू एमाले अध्यक्ष बन्नका लागि राजनीतिमा सक्रिय भएको उनको भनाइ छ ।
तर, एमाले अध्यक्ष ओलीले भने उनलाई नेतृत्व हस्तान्तरण गर्न नसकिने सार्वजनिकरुपमै बताइसकेका छन् ।