६४ अर्ब ९६ करोड ५१ लाख विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– उद्योग विभागका अनुसार ०८१ साउनदेखि ०८२ असारसम्म कुल ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार ४ सय रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त गरेको हो । सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा झण्डै ६५ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता पाएको छ ।
यसअनुसार अटोमेटिक रुटबाट विदेशी लगानीकर्ताहरुले ४ अर्ब ६१ करोड २६ लाख ६७ हजार र अप्रुभल रुटबाट ६० अर्ब ३५ करोड २४ लाख ७६ हजार ४ सय रुपैयाँको लगानी प्रतिबद्धता गरेका छन् ।
गत महिना असारमा मात्रै ४ अर्ब ३५ करोड ४७ लाख रुपैयाँबराबरको आएको छ । असारको प्रतिबद्धताअनुसार लगानी भित्रिँदा ३ हजार १११ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ । यस्तो प्रतिबद्धता अटोमेटिक र अप्रुभल रुटबाट प्राप्त भएको हो ।
उक्त लगानी प्रतिबद्धताअनुसार भित्रिए नेपालमा १९ हजार ५ सय ३६ रोजगारी सिर्जना हुनेछ । त्यसैगरी उत्पादनमा ५५ वटा, ऊर्जामा १, कृषिमा १२, पर्यटनमा ३०४, सेवा क्षेत्रमा ८४ र पूर्वाधारमा २ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
गत वर्ष नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताहरुले १ अर्ब ८४ करोड ३३ लाख ४३ हजार ४ सय ७० रुपैयाँ रोयल्टीबापत लगेका छन् । यसरी अमेरिकी डलरमा ९९ लाख ६८ हजार ४२३ नेपालबाट बाहिरिँदा ८७ करोड ३५ लाख १६ हजार ७ सय ४९ भारतीय रुपैयाँ र ६१ हजार ४३१ युरो बाहिरिएको विभागले जनाएको छ ।
त्यसैगरी अघिल्लो वर्ष २ हजार २२९ वटा व्यावसायिक भिसा सिफारिस गरेको विभागले गत वर्ष २ हजार २८५ वटा सिफारिस गरेको छ । यो भिसा विदेशी लगानीकर्ताका लागि सिफारिस गरिन्छ। उनीहरुको प्रतिनिधिका लागि गत वर्ष ४०८ वटा र उनीहरुको परिवारको लागि ९१५ वटा भिसा सिफारिस गरेको विभागले जनाएको छ ।
विदेशी लगानीकर्ताले गत वर्ष मात्रै ९ अर्ब ६१ करोड ७० लाख २ हजार ९७९ रुपैयाँ नेपालबाट लगेका छन्। अघिल्लो वर्ष नेपालबाट १० अर्ब १८ करोड ७६ लाख ३९ हजार ९५१ रुपैयाँ बाहिरिएको थियो ।