सरकार आज धान दिवस मनाउँदै, कृषक भने धान उत्पादनमा मल नपाएर सास्ती खेप्दै

सरकार आज धान दिवस मनाउँदै, कृषक भने धान उत्पादनमा मल नपाएर सास्ती खेप्दै
  • १५ असार २०८३, सोमबार ०७:१३

काठमाडौं । सरकारले आज देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रमका साथ मनाउँदै छ। यस वर्षको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ रहेको छ।

mulpatra

कृषकहरुले मानो रोपेर मुरी फलाउने आसमा देशभरि हिलोमा धान रोप्दै, असारे भाका गाउँदै र दही–चिउरा खाँदै असार १५ मनाउने गरेका थिए । त्यही असार १५ लाई राज्यले राष्ट्रिय धान दिवस मनाउन थालेको हो । कृषकको यही उत्सवको माहोलबीच अधिकांश किसान भने समयमा रासायनिक मल नपाउँदा गम्भीर समस्यामा परेका छन्।

नेपालले विसं २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको हो। धान उत्पादन बढाई खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको यो दिवसले किसानप्रति सम्मान प्रकट गर्ने अवसरका रूपमा पनि लिइन्छ। तर किसानहरू भन्छन्, ‘एक दिन सम्मान गरेर मात्र हुँदैन, समयमै मल, सिँचाइ र उचित मूल्यको व्यवस्था भए मात्रै वास्तविक सम्मान हुन्छ।’

mulpatra mulpatra mulpatra

नेपालमा धान खेतीलाई खाद्य सुरक्षाको मेरुदण्ड मानिन्छ। कृषि विभागका अनुसार देशका करिब २७ लाख ६५ हजार कृषक घरधुरी धान खेतीमा संलग्न छन्। कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान करिब १३ प्रतिशत र कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशत रहेको छ।

यद्यपि, धान उत्पादन बढाउने सरकारी प्रतिबद्धता व्यवहारमा भने कमजोर देखिएको किसानहरूको गुनासो छ। असारको रोपाइँको मुख्य समयमा किसानले सबैभन्दा बढी आवश्यक पर्ने युरिया, डीएपी र पोटास मल अभाव झेल्नुपरेको छ। सरकारी गोदाममा मल नहुँदा किसानहरू घण्टौँ लाइन बस्न बाध्य छन्। कतिपय जिल्लामा मल सीमित परिमाणमा वितरण हुँदा धेरै किसान खाली हात घर फर्किनुपरेको छ।

सरकारले प्रत्येक वर्ष धान दिवसमा आत्मनिर्भर कृषि, उत्पादन वृद्धि र किसानको सम्मानका कुरा दोहोर्‍याए पनि खेतमा पसिना बगाउने किसानले भने मल, सिँचाइ, बीउ र बजार व्यवस्थापनका आधारभूत समस्या अझै समाधान नभएको बताएका छन्।

Image Source: © https://mulpatra.com

कृषि विज्ञहरूका अनुसार धान रोपेको प्रारम्भिक चरणमै आवश्यक मात्रामा रासायनिक मल प्रयोग गर्न नसक्दा उत्पादनमा प्रत्यक्ष असर पर्छ। यसले राष्ट्रिय उत्पादन घट्ने मात्र होइन, आगामी वर्ष चामल आयातमा निर्भरता अझ बढ्ने खतरा पनि रहेको उनीहरूको भनाइ छ।

असार १५, दहि चिउरा खाने दिनमा किसानहरु रमाइरहे पनि सरकारले धान रोपाइँअघि नै आवश्यक मलको सुनिश्चित आपूर्ति, गुणस्तरीय बीउ, भरपर्दो सिँचाइ, कृषि बीमा, यान्त्रिकीकरण र उत्पादनको उचित मूल्यको ग्यारेन्टी गर्न सके मात्र धान दिवसको सार्थकता हुनेछ । अन्यथा प्रत्येक असार १५ मा हिलोमा रमाउने कृषकको अनुहारमा सरकारको धान दिवसले खुसी भन्दा बढी पीडा दिने र कृषकको पीर मर्का झन बढेर जाने छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com