प्रचण्ड, माधव र विप्लवतिर हेर्दै उपेन्द्रको व्यंग्य– कम्युनिष्ट आन्दोलन सकिन थालेको हो

काठमाडौं– काठमाडौंमा बुधबार आयोजित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृतिसभामा सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताएका छन् ।
यादवले सम्बोधन गरिरहँदा मञ्चमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू थिए ।
यादवले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवलाई समेत दुई वर्ष नबित्दै षड्यन्त्र गरेर हटाइएको स्मरण गर्दै कम्युनिष्टको जन्मकालमै षड्यन्त्र रहेको टिप्पणी गरे ।
यादवले कम्युनिष्ट आन्दोलनबाट उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किइरहेको जिकिर गरेका हुन् ।
‘२००६ सालमा कलकतामा उहाँले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । दुई वर्षमै यति धेरै षड्यन्त्रकारीहरु पार्टीमा घुसे । २००८ सालमै पार्टीको महासचिवबाट हटाइयो । नेपालमा कम्युनिष्ट आन्दोलन करिब करिब समाप्त भएको अवस्थामा म देख्छु । कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु ।’ उनले भने ।
नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन्त संघर्ष गर्ने व्यक्तित्वको रूपमा पुष्पलाललाई लिनुपर्ने ृउनको भनाइ छ ।