अन्नभण्डारमै खेडेरीः कतै वर्षाले विपद् र कतै सुक्खा, सरकार रमिते

काठमाडौं– मधेस नेपालकै अन्नभण्डार हो । यहाँको मुख्य बाली धान हो । धानले मुलुककै अर्थतन्त्रमा ठुलो टेवा पु¥याउँदै आइरहेको छ । तर अहिलेको अवस्थाले उत्पादनमा भारी गिरावट आउने संकेत गरिरहेको छ । यसले खाद्य संकट निम्त्याउने खतरासमेत बढाएको छ ।
मधेस प्रदेशमा कतै वर्षाले विपद् निम्त्याएको छ त कतै सुक्खा छ । रोपाइँसमेत प्रभावित भएका छन् । साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा खेत सुक्खा छन् ।पानीको आशमा आकाशतर्फ हेरिरहेका किसान अब सरकार र प्रकृति दुवैसँग गुनासो गर्दै छन् ।
मधेस प्रदेशका धनुषा, सिरहा, सर्लाही महोत्तरीलगायत जिल्लामा पानीको स्रोत सुकेपछि किसान संकटमा छन् । न त सिँचाइको सुविधा पुगेको छ न वैकल्पिक उपाय अपनाइएका छन् । रोपाइँ त परै जाओस् खानेपानीको समेत मधेसमा हाहाकार सरु भएको छ ।
मधेस प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । समयमै राहत नपाए यो समस्या सम्पूर्ण देशको बन्नेछ । खडेरीसँगै मधेसमा चर्किएको खानेपानीको अभाव टार्न मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै पहलमा वारुणयन्त्र परिचालन गरिएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानीको समेत अभाव भएको अवस्थामा कृषिमा यसले ठुलो क्षति हुने बताए । आजसम्म ४७ प्रतिशत रोपाइँ मात्र भएको उनको भनाइ छ । विगतका वर्षहरुमा ७५ प्रतिशत रोपाइँ सकिसकेको हुन्थ्यो । बोरिङ गरेर पनि समस्या समाधान हुनसक्ने स्थिति नरहेको उनले बताए ।
मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ । अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य छन् । यही समस्या मध्यनजर गर्दै मधेस सरकारले प्रदेशका विभिन्न स्थानीय तहलाई १६ वटा वारुण यन्त्रसमेत हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको बताए । उनले मधेसमा देखिएको खानेपानीको समस्या टार्न संघीय खानेपानीमन्त्री प्रदीप यादवसँग छलफल गरेका थिए । मधेसमा सतहमुनिको पानी दिनदिनै झर्दै गइरहेको छ । यसले भूमिगत सिँचाइ प्रणालीसमेत प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले बताए ।
उता किसानलाई खडेरीको चिन्ताले दैनिक पिरोल्छ । गत वर्ष असारको अन्त्यसम्म ६१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष मनसुनमा समेत पानी नपर्दा ४७ प्रतिशत मात्र रोपाइँ भएको छ ।
मधेस प्रदेशमा पानीको हाहाकार छ । । खेतमा पानी छैन । मोटर चलाउने राम्रो व्यवस्था छैन । धान राप्न नपाउँदै मधेसका किसान चिन्तित भएर सरकार गुहार्देछन् ।
नेपालभर रोपाइँ प्रगतिमा मधेश प्रदेश सबैभन्दा पछि परेको छ। कृषि विकास निर्देशनालयका अनुसार मधेश प्रदेशमा कूल ३ लाख ७६ हजार ३ सय २७ हेक्टर धान रोपाइँ योग्य जमिनमध्ये असार २२ सम्म जम्मा ५१ हजार २ सय ५० हेक्टर (१३.६ प्रतिशत) मा मात्र रोपाइँ भएको छ। यो अवस्था विगत वर्षहरूसँग तुलना गर्दा अत्यन्तै न्यून हो।
अधिकांश किसानहरूसँग निजी सिँचाइको व्यवस्था नभएको, विद्युत् महँगो भएको र डिप ट्यूबवेल, मोटरपम्पजस्ता वैकल्पिक साधनमा पहुँच सीमित भएकोले पनि उनीहरू थप समस्यामा परेका छन् ।
मौसम पूर्वानुमानअनुसार मधेश प्रदेशमा आगामी केही दिन उल्लेखनीय वर्षा हुने सम्भावना छैन। यस्तो अवस्थामा धान रोपाइँ सिजन नै छुट्न सक्ने तथा अन्य बालीहरू समेत सङ्कटमा पर्ने जोखिम देखिएको छ ।