वीरगञ्जमा काकाकुल भएपछि सेनाले दमकलमार्फत पानी वितरण

काठमाडौं– मधेश प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ । लामो समयदेखि पानी नपरेपछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खानेपानीको चरम अभाव सृजना भएको छ ।
अहिले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरूमा खानेपानीको संकट छ । पालिकाको १९ नम्बर वडा बिन्ध्यबासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको अभाव देखिएको हो । सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ ।
हाल नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरको २८ बाहिनीअन्तर्गत श्रीजंग गणले दैनिक ३ चरणमा ( बिहान ७ बजे, दिनको २ बजे र साझ ६ बजे) ६ वटा दमकलको सहायताले दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।
‘सेनाले दिनको ३ पटक पानी वितरण गरिरहेका छन् । अहिले खाना पकाउन, पानी पिउन यही पानी हो । गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन यहाँ त धेरै समस्या छ उनले सुनाए’, स्थानीय मोटर मियाँले बताए ।
स्थानीय सुरज कुमार यादवले कुनै पनि स्थानीय सरकार र दलले सहयोग नगरेको गुनासो गरे । सेनाले मात्र पानी दिएको उनको भनाइ छ ।