प्राधिकरणले वाइफाइ हटस्पट सेवामा प्रतिबन्द लग्यो

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सूचना प्रकाशित गर्दै इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीलाई वाइफाइ हटस्पट सेवा सञ्चालनको अनुमति नभएको स्पष्ट पारेको हो ।
दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले आम्दानी घटेको भन्दै यस्तो सेवामा प्रतिबन्ध लगाउन प्राधिकरणसँग माग गर्दै आएका थिए । वल्र्डलिंकले आफ्ना ग्राहकलाई घरबाहिर पनि वाइफाइ हटस्पटमार्फत निःशुल्क इन्टरनेट सेवा दिँदै आएको छ । यसका कारण नेपाल टेलिकम र एनसेलको डेटा खपत कम भएको भन्दै यो सेवामा रोक लगाउन दुवै कम्पनीले आग्रह गर्दै आएका थिए ।
प्राधिकरणका अनुसार आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवा गरी तीन प्रकारका सेवा लिएका कम्पनीले मात्र वाइफाइ हटस्पट सेवा सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।
प्राधिकरणको यस्तो निर्देशनसँगै हाल काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सार्वजनिक स्थलसहित होटल तथा रेष्टुराँहरुमा वाइफाइ हटस्पट सञ्चालन गर्दै आएको वल्र्डलिंकको सेवा बन्द हुनेछ ।
अहिले यो कम्पनी बन्द अवस्थामा छ । हाल वाइफाइ हटस्पट सेवा प्रदान गरिरहेको वल्र्डलिंकसँग भने उल्लेखित तीनवटै अनुमति नभएका कारण उसले हाल प्रदान गरिरहेको सेवा रोकिने भएको हो । हाल वल्र्डलिंकसँग इन्टरनेट र नेटवर्क सेवा प्रदायकको अनुमतिमात्र रहेको छ ।
आधारभूत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमसँग मात्र छ भने मोबाइल टेलिफोन सेवाको अनुमति नेपाल टेलिकम र एनसेल दुवैसँग रहेको छ । यस्तै, आधारभूत टेलिफोन सेवाको अनुमति भने युनाइटेड टेलिकम (यूटीएल) ले मात्र प्राप्त गरेको छ ।
दूरसञ्चार सेवामा पहुँच विस्तार गरी सेवालाई सर्वसुलभ बनाउन आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले मात्र वाइफाइको माध्यमबाट समेत सिमलेस कनेक्टिभिटी, रोमिङ र मोबिलिटी सेवा प्रदान गर्न सकिने कानुन कार्यान्वयनका लागि सरोकारवालालाई सूचित गरिएको प्राधिकरणले जनाएको छ ।