Close

पाँच घण्टादेखि एनटीसीको इन्टरनेट ठप्प, सामाजिक सञ्जालमा गुनासोका चाङ्ग

पाँच घण्टादेखि एनटीसीको इन्टरनेट ठप्प, सामाजिक सञ्जालमा गुनासोका चाङ्ग
  • १३ श्रावण २०८२, सोमबार १८:१७

काठमाडौँ– दूरसञ्चार कम्पनीहरुको अस्तित्व जोगाउन अब नेपालमा मोबाइल डाटा (इन्टरनेट)को उपयोग बढाउनु जरुरी भएको भनेर आवाज उठाउँदै गरेको बेला प्रमुख दूरसञ्चार कम्पनीको डाटा सेवामा गम्भीर समस्या देखा परेको छ ।

mulpatra

नेपाल टेलिकम (एनटीसी)को मोबाइल डेटा सोमबार दिउँसोदेखि ठप्प भएको छ । दिउँसो १ः४५ बजेदेखि टेलिकमको नेटवर्कमा डाटा चल्न छोडेको हो ।

महँगो शुल्क लिएर डाटा प्याक किनेका ग्राहकहरुले सामाजिक सञ्जालमा यससम्बन्धी गुनासा पोखेका छन् । तर डाटा सेवा अवरुद्ध भएको पाँच घण्टा बित्दा पनि यो समस्या सुल्झिएको छैन ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले मुख्य प्रणाली (कोर सिस्टम)मा प्राविधिक समस्या देखिएपछि मोबाइल डेटा चल्न छोडेको बताएका छन् ।

उनले टेलिकमका प्राविधिकहरू समस्या समाधान गर्न खटिएको भने पनि लामो समयसम्म नतिजा हासिल हुन नसकेको देखिएको छ । कसरी यस्तो अवस्था आयो भन्ने विषयमा पनि टेलिकम अहिलेसम्म निरुत्तर देखिन्छ ।

देशैभरका टेलिकमका सीम धारकहरु एकसाथ मोबाइल डाटाको पहूँचबाट बाहिरिएका छन् । यो समस्या कतिसम्म तन्किन्छ भन्ने बारेमा कुनै यकिन नभएको कम्पनीका उच्च व्यवस्थापकहरुले बताएका छन् ।

यस विषयमा कम्पनीले एक सूचना जारी गर्दै फोरजी तथा भीओएलटीई (भोल्टे) सेवामा समस्या उत्पन्न भए पनि टुजी र थ्रिजी सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको भनेको छ ।

यसअघि पनि एनटीसीको नेटवर्कमा समस्या उत्पन्न हुँदै आएको छ । करीब दुई महिना अघि टेलिकमको नेटवर्कमा समस्या आउँदा फोन, डाटा र एसएमएससमेत सबै सेवा अवरुद्ध भएको थियो ।