सय संख्याको समस्या समाधान गर्न सरकारसँग तत्काल छलफल र दबाब दिन संघलाई आग्रह
काठमाडौं– इजाजत नवीकरणका लागि बाध्यकारी सय संख्याले उत्पन्न गराएको समस्या समाधानका लागि पहल गरिदिन सय नकटाएका म्यानपावर सञ्चालकले वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय पुगेका छन् ।

उनीहरु सय नवीकरण नभएको विषयमा संघले सरकारसँग छलफल र दबाब दिन आग्रह गदै संघका पदाधिकारी भेट्न भएका हुन् । संघका पदाधिकारीले पनि यस विषयमा गम्भीर भएको र सरकारसँग पहल भइरहेको जनाएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अन्तर्गत बाधा अड्काउ फुकाउ वा अन्य उपयुक्त प्रशासनिक उपाय अवलम्बन गरी तत्काल व्यवसायीहरूलाई राहत दिन व्यवसायीको माग छ ।
इजाजत नवीकरणका लागि बाध्यकारी संख्या सयको प्रावधान संघीय संसद्बाट संशोधन भई पारित भइसकेको र राष्ट्रपति कार्यालयमा प्रमाणीकरणको प्रक्रियामा छ । दुई महिनादेखि यो प्रक्रिया रोकिएको छ । यसका लागि तत्काल पहल गर्ने व्यवसायीले संघसँग माग गर्दै आएका छन् ।
वैदेशिक रोजगार ऐनको व्यवस्था पूर्णरूपमा कार्यान्वयन नहुन्जेलसम्म करिब ४ सय ३८ वटा वैदेशिक रोजगार व्यवसायी संस्थाहरू इजाजतपत्र नवीकरण प्रक्रियाको अन्योलमा परेको छन् ।
