विधान महाधिवेशनको व्यवस्थापनका लागि एमालेमा काम बाँडफाँट, कुन नेता के जिम्मेवारी पाए

विधान महाधिवेशनको व्यवस्थापनका लागि एमालेमा काम बाँडफाँट, कुन नेता के जिम्मेवारी पाए
  • १६ श्रावण २०८२, बिहीबार ११:५०

काठमाडौं– नेकपा एमालेले भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । हिजो बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले विभिन्न नेताहरूलाई महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

mulpatra

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ ।

१० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो ? कतिले पार्टी छोडे ती सबै विषय यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय प्रमुख डा. भीष्म अधिकारीले जानकारी दिए ।

यसैगरी स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई जिम्मा दिइएको छ । महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मा पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई जिम्मा दिइएको छ ।

यस्तै सचिवालय र खानाको व्यवस्थापन कार्यालय सचिव डा. अधिकारीलाई जिम्मा दिइएको छ । कार्यालयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठको जिम्मा दिएको छ ।

महाधिवेशनको प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई जिम्मा दिइएको छ । यस्तै स्वागत नृत्य सहित विविध सांस्कृतिक कार्यक्रमका लागि केन्द्रीय सदस्य हेमराज राईलाई जिम्मा दिइएको छ ।

महाधिवेशनका प्रतिनिधिले आवासको व्यवस्था आफैँ गर्नुपर्ने छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ ।

विधान महाधिवेशनमा २२ सय ७९ जना प्रतिनिधि रहनेछन् । एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा हुँदै छ ।