Close

Recent Posts

प्रथम कोदो दिवस: माग बढ्दो, माग धान्न आयातमै निर्भर

प्रथम कोदो दिवस: माग बढ्दो, माग धान्न आयातमै निर्भर
  • १७ श्रावण २०८२, शुक्रबार १६:५४

काठमाडौं– नेपालमा पहिलो पटक ‘राष्ट्रिय कोदो दिवस’ साउन १६ गते भव्य रूपमा सम्पन्न भएको छ । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नारासहित मनाइएको दिवसमा संघीय सरकार, स्थानीय तह, अन्तर्राष्ट्रिय संस्था, किसान समूह, सञ्चारकर्मी र सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

mulpatra

भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा सम्पन्न मूल समारोहसहित देशैभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । समारोह कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासंघ नेपाल (ल्ँन्ँ) र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

मूल समारोह कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा सम्पन्न भयो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी प्रमुख अतिथि थिए भने एफएओ नेपालका प्रतिनिधि केन शिमिजु, कृषि सचिव, नगरप्रमुख र अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

२०७७ सालदेखि कोदो प्रवद्र्धनमा लागिरहेका कृषक समूह महासंघ र अनाजले राज्यद्वारा दिवस स्वीकृत भएकोमा सन्तोष व्यक्त गर्दै बीउ, मलखाद, प्रविधि र मूल्य सुनिश्चितता जस्ता पक्षमा राज्यले थप गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा २ लाख २४ हजार ९३५ हेक्टरमा कोदो खेती भई ३ लाख ७३२ हजार मेट्रिक टन उत्पादन भएको छ, तर प्रति हेक्टर उत्पादकत्व मात्र १.३३ मेट्रिक टन रहेको छ ।

भन्सार विभागको तथ्यांकले १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य वस्तु करिब ७६ करोड रुपैयाँमा आयात गरिएको देखाउँछ, भने निर्यात मात्रा ७० मेट्रिक टनमै सिमित छ ।

विभागका अनुसार पछिल्लो ३ वर्षमा ४ करोड ८६ लाख ४४ हजार ८५ केजी कोदो आयात भएको छ । सो परिमाणमा कोदो आयात हुँदा २ अर्ब २३ करोड ९५ लाख १८ हजार रुपैयाँ बाहिरीएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा ७५ करोड ४१ लाख ९५ हजार रुपैयाँमा १ करोड ५२ लाख ९२ हजार ८२० केजी कोदो आयात हुँदा मात्र ५ हजार ३०४ केजी कोदो निर्यात भएको थियो । उक्त कोदो निर्यातबाट ५ लाख ६७ हजार रुपैयाँ आम्दानी भएको विभागको तथ्यांकमा उल्लेख भएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा ७१ करोड ९४ लाख २३ हजार रुपैयाँको १ करोड ८० लाख ४४ हजार ५४ केजी कोदो आयात हुँदा निर्यात भने शून्य रहेको थियो । नेपालमा धेरै मात्रामा भारतबाट कोदो आयात हुँदा चीनबाट केही मात्रामा आयात थियो।

प्रधानमन्त्री, कृषि मन्त्री र कृषि सचिवबाट कोदो दिवसको अवसरमा विशेष शुभकामना सन्देशहरू सार्वजनिक गरिए । स्वास्थ्य मन्त्रालयले अस्वस्थ जीवनशैली र गैर–सङ्क्रामक रोगको चुनौतीसँग लड्न कोदो लगायत रैथाने पौष्टिक बालीको उपभोग आवश्यक रहेको धारणा व्यक्त ग¥यो ।

भन्सार विभागको तथ्यांक अनुसार गत आव २०८१÷८२ मा ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३१६ टन कोदोजन्य उत्पादनको आयात भएको छ । यस्तै सोही वर्ष ९४ लाख ७ हजार बराबरको ७० टन कोदोजन्य उत्पादनको निर्यात भएको विभागको तथ्यांक छ ।

रोटी, ढिँडो र सातु जस्ता परम्परागत परिकारका अलावा केक, ब्रेड, चाउमिन, कुकिज, विस्कुट, पिज्जा, दुनोट जस्ता आधुनिक परिकारमा विविधिकरण गरिएमा वर्तमान पिढिका जनमानसमा समेत कोदोजन्य बालीको उपभोग बढाउन सकिनेछ ।

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कोदोजन्य बालीमा अनुसन्धान गरी हालसम्म कोदोका ६ वटा, चिनोको एक वटा, कागुनोको १ वटा गरी ८ वटा जात उन्मोचन तथा दर्ता गरिएका छन् । कोदो जन्य बाली र तिनीहरूको जंगली प्रजातिहरूको संरक्षण कार्य राष्ट्रिय जिन बैंकमार्फत हुँदै आएको छ ।

राष्ट्रिय जिन बैंकमा हालसम्म कोदोजन्य बालीका १ हजार १४० परिग्रहणहरू सुरक्षित राखिएको छ । विभिन्न सामुदायिक बीउ बैंकहरूले स्थानीय स्तरमा कोदो र अन्य रैथाने बालीहरूको संरक्षण एवं दिगो उपभोगका लागि कार्य गरिरहेका छन् ।