डल्लुमा डेढ घण्टा खनाल र श्रेष्ठको छलफल, पार्टी एकताका लागि श्रेष्ठको प्रस्ताव

काठमाडौं– नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले करिब डेढ घण्टा छलफल गरेका छन् ।
श्रेष्ठले यसअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र शुक्रबार मात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग भेटेका थिए । राजनीतिक भेटघाको दौडधुप बढाएका नेता श्रेष्ठ खनाल भेट्न डल्लुस्थित निवासमा पुगेका थिए ।
छलफलमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलनलगायतको विषयमा छलफल भएको बताइएको छ । राष्ट्रिय परिस्थिति, नेपालका कम्युनिस्ट एवं वामपन्थी, देशभक्त शक्तिहरू र वामपन्थी पार्टीहरूको बीच सहकार्य एवं एकताको बारेमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
श्रेष्ठले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले हालै गरेको पार्टी एकतासम्बन्धी प्रस्तावको बारेमा पनि जानकारीसँगै अपील गरेका छन् । यस सन्दर्भमा खनालले कम्युनिस्ट एवं वामपन्थी पार्टीको एकता र सहकार्यको पक्षमा आफू पनि भएको बताएका छ्न् ।
तर, दुई पार्टी बीचमात्र केन्द्रित भएर एकताको बारेमा कुनै कुराकानी नभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
अहिलेको मुख्य आवश्यकता राजनीतिक परिवर्तनको रक्षासहित समृद्ध नेपाल निर्माणको प्रक्रियाबाट अघि बढ्दै वैज्ञानिक समाजवादको निर्माणको दिशा पक्रनु रहेको र त्यसको लागि कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिबीचको सहकार्य र एकता आवश्यक रहेकोमा दुई नेता निचोडमा पुगेका छन् ।