कोशीमा उपल्लो कमिटिको निर्णयमा नबोल्न अध्यक्ष खतिवडाको निर्देशन: सदस्यको आग्रह प्रविधि युगमा आवाज दबाउन मिल्दैन

काठमाडौं । एमालेको २४५ सदस्यीय कोशी प्रदेश कमिटिमा ४२ जनाले मात्र बोल्दै धनकुटामा दुई दिन लगाएर बैठक समापन गरेको छ । भदौ १० गतेभित्र विधान मस्यौदामाथि सुझाव पठाउन सर्कुलर जारी गरेपछि सबै प्रदेशहरुमा बैठकको हतारो चल्दै गर्दा कोशीले सदस्यहरुलाई बोल्न नदिई बैठक समापन गरेको आरोप समेत लागेको छ ।
यही भदौ २० देखि २२ गतेसम्म हुने एमालेको दोस्रो विधान महाधिवेशनमा विधानका केही व्यवस्था परिवर्तन गर्ने मस्यौदा तयार पारेर एमालेले तल्ला कमिटीहरूबाट सुझाव पठाएको थियो । विधान महाधिवेशनले ती सुझावलाई समेटेर विधान पारित गर्नेछ ।
विधानमा ७० बर्षे उमेर हद, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन रोक लगाउने विषय, पदाधिकारी संख्या घटाउने जस्ता महत्वपूर्ण विषय भए पनि त्यो विषय धेरैले बोल्नै नचाहेको एक सहभागीले बताएका छन् ।
विधान संसोधनका लागि सुझाव माग गरिएको भएपनि बैठकमा बोल्ने अधिकांशले विधानका विषयमा कुरा नै उठाएनन् । ४२ जना मध्येमा ९ जनाले मात्र विधानका विषयमा र पछिल्लो चरणमा पार्टीमा उठेको पुर्वराष्ट्रपति विद्या देवी भण्डारीको पक्षमा मत जाहेर गरेका थिए । जसमध्ये भोजपुर, उदयपुर, खोटाङ,ओखलढुंगा, मोरङ लगायतका सहभागीले विद्या भण्डारीलाई पार्टीमा रोक्ने निर्णय ठिक नभएको कुरा राखेको एक सहभागी सदस्यले बताएका छन् ।
पार्टीको महत्वपुर्ण छलफल अझ विधान संसोधन प्रस्तावको सुझावका लागि आयोजना गरेको बैठकमा किन बोल्ने मान्छे भएनन भन्ने प्रश्नमा एक जना सदस्य भन्छन ‘देश इन्चार्ज शेरधन राईले पूर्वराष्ट्रपतिका बारेमा बहस छलफल बन्देज गरेको छ, त्यसकारण पार्टीको अपानि बमोजिम चल्नू भनेर निर्देशन दिएका थिए, त्यही डर थियो ।’
२४५ सदस्यीय कमिटिमा बोल्ने मान्छे कमि भएको विषयमा प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पनि अपानिको बर्खिलाप हुनेगरी बोल्न नदिएकै स्वीकारेका छन् ।
उनले भने ‘‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुँदैन । तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो । त्यसकारण उपल्लो कमिटिको निर्णयका बारेमा बोल्न पाइन भनेर भन्नु कति उचित हुन्छ रु त्यही कारणले केही कमरेडहरुले बोल्ने समय नपाउनु भएको हो ।’
नेतृत्वको खबरदारीका विच पनि प्रदेश सदस्यहरु रोशन बस्नेत, अञ्जु पाण्डे, डीबी कार्की र मकर खड्काले पूर्वराष्ट्रपति भण्डारीको पक्षमा बोलेका थिए ।
पार्टीको उपल्लो कमिटिको निर्णय तल्ला कमिटिमा छलफल हुँदैन भन्ने प्रदेश अध्यक्षको कुरालाई जवाफ दिँदै प्रदेश सदस्य रोशन बस्नेतले ‘कम्रेडहरु हिजो अवसर सिमित हुन्थे ज्ञान र सुचना माथीबाट मात्रै आउछ्न भन्ने मान्यता थियो तर आज यो सुचना प्रबिधि को युग मा ज्ञान र सुचना माथिको ओहदाबाट मात्रै प्राप्त हुदो रहेनछ भन्ने सच्चाइलाई आत्मसात गर्नु आबश्यक छ, त्यसकारण कसैको आवाज दवाउन नमिल्ने’ भनेपछि माहोल तातिएको एक सदस्यले बताएका छन् ।
बस्नेतले पानी र बानी माथी बाटै सङ्ग्लो हुनु आवश्यक छ भन्दै कतिपय नेताहरुले तल्ला कमिटीमा थर्काउने र नोटिसमा राखिएको छ भन्ने अभियक्ती आपत्ति जनक रहेको समेत बैठकमा राखेका थिए । उनले पुर्व राष्ट्रपति विध्यादेवि भण्डारीको सम्मानजनक हिसाबले पार्टी सदस्यता कायम गरी पार्टी कार्यकर्ताको भावनालाइ समेटी पार्टीलाई थप सशक्त बनाउनु आवश्यक रहेको बताएका थिए ।
सुझाव राख्ने क्रममा प्रदेश इन्चार्ज राईकै जिल्लाका जिल्ला अध्यक्ष मकर खड्काले पनि पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पक्षमा बोलेका र मिसन ०८४ मा अप्ठेरो पर्ने बताएका थिए । यता जिल्लाको निर्वाचनमा पुर्व संविधान सभा सदस्य कृपासुर शेर्पालाई हराउन प्रदेश इन्चार्ज राइले नै मकर खड्कालाई जिल्ला अध्यक्ष बनाएका थिए ।
सुझाव संकलन गर्न १० सदस्यीय कार्यदल गठन
बैठकले विधान संसोधनका लागि पठाइएको बुँदाहरुमा छलफल गरि सुझाव संकलन गर्न प्रदेशमा १० सदस्यीय प्रदेश कार्यादल बनाएको छ । प्रदेश सचिव राजकुमार भण्डारीको संयोजकत्वमा कार्यादल गठन गरिएको छ । कार्यादलले कोशीका १४ वटै जिल्लाबाट आउने सुझावलाई संकलन गरि केन्द्रलाई पठाउने प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिएका छन् ।
खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा, प्रेम गीरी, इन्द्रमणी पराजुली, खड्ग राई, इश्वरमणी राउत, सत्यनारायण चौधरी, सृजना राई, राजन ढकाल, र सोम पोर्तेल रहेका छन् ।