बीपी राजमार्गमा भदौ १५ सम्म राति सवारी सञ्चालनमा रोक

काठमाडौं । सक्रिय मनसुनका कारण पहिरो तथा बाढीको उच्च जोखिम रहेकाले बीपी राजमार्गमा राति सवारी सञ्चालनमा थप १५ दिनका लागि रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आगामी भदौ १ गतेदेखि भदौ १५ गतेसम्म प्रत्येक रात ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय लिएको हो। निर्णय अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुली सीमा नेपालथोकसम्मको सडकखण्डमा सवारी सञ्चालनमा निषेध गरिनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले मनसुनका कारण सडक जोखिमपूर्ण अवस्थामा रहेकाले रातको समयमा सवारी सञ्चालन रोक्नु परेको बताए। उनका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डसम्म विभिन्न स्थानहरूमा पहिरोको जोखिम उच्च रहेको छ।
यसअघि पनि गत ७ असारदेखि साउन मसान्तसम्म पटक–पटक समय तोकी सवारी सञ्चालनमा रोक लगाउँदै आएकोमा अहिलेको निर्णयले रातिको १२ घण्टा थप प्रतिबन्ध जारी राखिएको हो।
गत वर्षको असोजमा आएको बाढीपहिरोले बीपी राजमार्ग अन्तर्गत चौकीडाँडादेखि वर्षेखोलासम्म करिब ८ किलोमिटर सडक नै बगाएको थियो। हाल ती क्षेत्रमा अस्थायी सडक निर्माण गरी कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन भइरहेको छ। राजमार्गको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी सडकखण्डमा विशेष क्षति पुगेको छ।
प्रशासनले राजमार्गको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अगाडि बढाएको जनाएको छ। काठमाडौंबाट पूर्वी नेपाल जोड्ने मुख्य वैकल्पिक मार्गको रूपमा रहेको बीपी राजमार्गबाट दैनिक हजारौं सवारी साधन सञ्चालन हुने गरेकोले जोखिम न्यूनीकरणका लागि सवारी रोक लगाइएको जनाइएको छ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबैलाई सतर्कता अपनाउन आग्रहसमेत गरेको छ।