Close

Recent Posts

पर्यटक र विद्यार्थी बनेर नेपाल आएका ३ इन्डोनेसियाली महिला पक्राउ

पर्यटक र विद्यार्थी बनेर नेपाल आएका ३ इन्डोनेसियाली महिला पक्राउ
  • ५ भाद्र २०८२, बिहीबार १७:३६

काठमाडौं– भिसाको उद्देश्य विपरीत नेपालमा बस्दै आएका तीन इन्डोनेसियन नागरिक पक्राउ परेका छन् । पक्राउ परेका तीनै जना महिला हुन् । जसमध्ये एक जना पर्यटक र अरू दुई जना अध्ययन भिसामा सन् २०२४ मा नेपाल आएका थिए ।

mulpatra

ललितपुरको धोबिघाटमा रहेको हिमालय शिक्षा तथा हितेशी समाज गल्र्स होस्टलबाट अध्यागमन विभागले तीन जनालाई पक्राउ गरेको हो । उनीहरूलाई उक्त होस्टलमा शिक्षकको रूपमा राखिएको थियो। त्यहाँ उनीहरूले टर्किस भाषा, कुरान सिकाउने र मुस्लिम धर्म प्रचारप्रसार समेत गर्ने गरेको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरूले धर्मप्रचारक संस्थाबाट प्रत्येक वर्ष दुई करोड ५० लाख प्राप्त गर्थे । उक्त होस्टलमा करिब ५० जना छात्राहरूलाई कुरान पढाइरहेको बेलामा अध्यागमन विभागका निर्देशक समेतको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूले कुनै शैक्षिक संस्थामा अध्ययन गरिरहेका थिएनन् । नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले काम गर्ने भए वर्किङ भिसा लिनुपर्छ ।

अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने र कब्जामा लिन सक्ने व्यवस्था छ ।

अध्यागमन नियमावली, २०५१ मा पर्यटक भिसामा बसेको विदेशी नागरिक र परिवारको सदस्यले कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने व्यवस्था छ । यसैगरी विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सो बाहेक अन्य काम गर्न पाइने छैन भन्ने व्यवस्था छ ।

यसरी गैरकानुनी रूपले बसेका विदेशीलाई महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा अनुसन्धान पत्र नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने कानुनी व्यवस्था छ ।