फेरी घटाए वाणिज्य बैंकहरुले ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको ब्याजदर फेरी घटाएका छन्। बैंकहरुको औसत ब्याजदर साउन महिनाको तुलनामा लगातार घट्ने क्रममा छ।
साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ५.६९ प्रतिशत रहेको थियो भने भदौमा यो घटेर ५.५७ प्रतिशत पुगेको छ। संस्थागत मुद्दति निक्षेपमा पनि साउनको ४.११ प्रतिशतको तुलनामा भदौमा ३.९६ प्रतिशतमा झरेको छ।
२० वाणिज्य बैंकमध्ये ८ बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएका छन्। ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक रहेका छन् भने प्रभु बैंकले मात्र व्याजदर थोरै बढाएको छ ।
भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया बैंकले दिने भएको छ, जसको अधिकतम दर ६.२५ प्रतिशत छ। सबैभन्दा कम ब्याज लक्ष्मी सनराइज बैंकले ५ प्रतिशतमा दिनेछ।
संस्थागत मुद्दति निक्षेपमा भने ७ बैंकहरुले अधिकतम ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएको छैन। यसमा औसत ब्याजदर ०.१५ प्रतिशतविन्दु घटेको छ।
