भारतीय विदेश सचिव मिश्रीले महत्वपूर्ण भेटवार्ता गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा बिहान काठमाडौं आइपुगेका मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्ने स्रोत बताउँछ । सचिव मिश्रीले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ता पनि आजै दिनेछन् ।
प्रधानमन्त्री ओली यही भदौ ३१ गते २ दिने भारत भ्रमण जाँदैछन् । त्यसकै तयारी स्वरुप मिश्री काठमाडौं आएका हुन् । यसपटक मोदी र ओलीबीच बिहार राज्यको बोधगया औपचारिक भेटवार्ता गराउने तयारी छ । बोधगया बुद्धले ज्ञान प्राप्त गरेको स्थान मानिन्छ ।
मिश्रीले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणा, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ । स्रोतका अनुसार आजकै भेटवार्तामा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डाका बारेमा पनि छलफल हुनेछ ।
मिश्री सोल्टी होटेलमा रहेका छन् । त्यहाँबाट सिधै प्रधानमन्त्री ओलीलाई भेट्न जानेछन् । त्यसपछि शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्री राणालाई भेटेपछि दुई पक्षीय वार्ता सुरु हुनेछ ।
भेटवार्ताका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ । उच्चस्तरीय भेटवार्ता र छलफलपछि उनी पशुपतिनाथको दर्शन गरेर भारत फर्किनेछन् ।
भारतीय विदेश मन्त्रालयले परराष्ट्र सचिवको आसन्न भ्रमण दुवै देशबीच हुने नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा निरन्तरता हो भएको भन्दै भनेको छ, ।