उपसभामुखलाई हटाएर दम्भ देखाउन खोज्थे ओली–देउवा, शेखरले रोकेर राजनीतिक हाइट बढाए

काठमाडौं– उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारुढ कांग्रेस–एमालेको प्रयासमा बाधक बने कांग्रेसको शेखर कोइराला । दुई दलले आज बिहान संसदीय दलको आकस्मिक बैठक डाकेर सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराइ रहेकै बेला शेखरले यसमा ब्रेक लगाउन सफल भए ।
उपसभामुख रानाले साढे दुई वर्ष अगाडि लेखेको पत्रलाई आधार बनाएर उनीहरूले संविधानको धारा ९१ को उपधारा ६ (ग) अनुसार उपसभामुखलाई हटाउन खोजेका हुन् ।
उपसभामुख राना मगरले सन् २०२३ फेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य ६ जना जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ता मिति मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
सत्तामा आसिन प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखले आचरणविपरीत काम गरेको भन्दै उनलाई हटाउने प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गरेका छन् । यसमा मुख्य बाधक बने शेखर । जसका कारण अहिले उनको चर्चा समेत भइरहेको छ ।
संवैधानिक परिषद्मा समेत सत्ता पक्ष अल्पमतमा पर्दा संवैधानिक नियुक्तिहरू लामो समयदेखि हुन नसकेकोबारे त्यहाँ नेताहरूबिच छलफल भएको थियो ।प्रधानमन्त्री अध्यक्ष रहने ६ सदस्यीय संवैधानिक परिषद्मा उपसभामुख पनि सदस्य रहने व्यवस्था छ । संवैधानिक परिषद्मा सत्तापक्ष र प्रतिपक्षीको मत बराबर छ ।
प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता र प्रधानन्याधीश रहने परिषद्मा विपक्षी दलको नेता, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख विपक्षमा रहेको अवस्था छ भने प्रधानन्यायाधीशले पनि सत्तापक्षले भनेको निर्णयमा साथ नदिने देखिन्छ । सोही कारण उपसभामुख फेर्दा सत्तापक्षलाई नियुक्ति सिफारिसका लागि सहज हुने देखिन्छ । त्यही भएरपनि राना हटाउन ओली लागि परेका हुन् ।
सोमबार साँझ नेकपा एमाले र कांग्रेसका शीर्ष नेताहरूले उपसभामुख राना हटाउने प्रक्रिया अघि बढाउने र हालै खाली भएको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सभापति नियुक्त गर्नेबारे छलफल गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले संवैधानिक परिषदमा मनोमानी गर्ने नियत रहेको निष्कर्ष निकालेको छ । यसैलाई आधार मान्ने हो भने भोलीदेखि सदनमा यस विषयले प्रवेश बनाउने छ ।
कोइराला समूहले खाली कागजमा हस्ताक्षर गराउनुको प्रयोजन माग गरेपछि उपसभामुख हटाउने प्रयास असफल भएको सञ्चारमाध्यममा चर्चा छ । शेखरले संसदीय दलमा बैठकमा पनि हस्ताक्षर संकलनको प्रयोजन खुलाउन माग गरेका छन् । हुन त शेखर समूहका सबै सांसद काठमाडौंमा उपलब्ध छैनन् भने काठमाडौंमा रहेका केही सांसदले खाली कागजमै हस्ताक्षर गरेका छन् ।
कोइरालाले आफूनिकट सांसदलाई फोन गरेर प्रयोजन खुलाइए मात्रै हस्ताक्षर गर्न निर्देशन दिएका थिए । त्यसपछि शेखर समूहका सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न मानेनन् ।
भरखरै राज्यव्यवस्था समितिबाट राजिनामा दिएका रामहरि खतिवडाले ‘भरी कागजमा हस्ताक्षर गर्दा त समस्या आउँछ खालीमा कहाँ हुन्छ ?’ भनेर हस्ताक्षरको विरोध गरेपछि उपसभामुखको विषयलाई लिएर कांग्रेस भित्र वेमेलको स्थिति सिर्जना समेत भएको छ ।
उपसभामुखलाई हटाउन खोजेको चर्चा बाहिर सुनेको भएपनि पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको जिकिर गरे। शेखर पछिल्लो समय सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन् । यसले राजनीतिक चर्चा समेत पाइरहेको छ ।
शेखरले पार्टीका बैंठकमा कांग्रेस सिध्याउन उपसभामुखलाई हटाउन खोजेको र हस्ताक्षर चलाएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न समेत गरेका थिए ।
उपसभामुख हटाउन दुई तिहाइ मत चाहिन्छ । जसअनुसार प्रतिनिधिसभाको २७५ जना सांसदमध्ये १८४ हुनुपर्छ । उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन् ।
संविधानको धारा ९१ मा प्रतिनिधि सभाका सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ । धारा ९१ को उपधारा ६ को (ग) अनुसार ‘निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा’ सभामुख वा उपसभामुखको पद रिक्त हुने व्यवस्था छ ।
यही धारा टेकेर कांग्रेस र एमालेले सरकारमा रहेका अन्य साना दलहरूको सहयोगमा दुई तिहाइ पु¥याएर उपसभामुखलाई हटाउने तयारी गरेका हुन् । यसका लागि कोइरालाले समेत असहमत देखाएपछि सरकारलाई अघि बढ्न समस्या हुने देखिएको छ ।
संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस–एमालेका सांसदहरूले आज बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएको छ । उक्त अभियानको विरोध गर्दै प्रतिपक्षी दलहरूले सशक्त प्रतिवाद गर्ने बताएको हो ।