शिक्षा विधेयकमा शिक्षक नेता अझै असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा

शिक्षा विधेयकमा शिक्षक नेता अझै असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा
  • ६ भाद्र २०८२, शुक्रबार १२:३७

काठमाडौं शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

mulpatra

महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ ।

भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ । ।

भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।

भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघका नेताहरुले बताएका छन् ।

महासङ्घले शिक्षा समितिबाट पारित भएको विधेयक आफूहरूको असन्तुष्टिको बाबजुद पारित गरेको आरोप लगाएको छ । प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी र सहमतिअनुसार नभएको भन्दै विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ।

समितिबाट पारित भएको विधेयकमा महासंघले उठाएको आंशिक मागहरूमात्र पूरा भएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । उनले सरकार इमान्दार नभएको जिकिर गरिन् ।

मुख्य विषय हल नभएको बताउँदै उनले आफूहरूले राखेको मुद्दा संशोधन हुनेमा आशावादी रहेको उनले बताइन् । उनले फेरि यो सरकारले आन्दोलन गर्न बाध्य बनाएको उनको आरोप छ ।