धान रोपाइँ ७० हजार हेक्टर घट्यो, उत्पादनमा ह्रास

काठमाडौं– बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्यांक अनुसार यो वर्ष १३ लाख ६ हजार २९३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष देशभर १३ लाख ७६ हजार ४६६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्षभन्दा ७० हजार १ सय ७३ हेक्टर कम क्षेत्रफलमा धान रोप्दै यो वर्षको रोपाइँ मैझारो गरिएको हो ।
यस वर्षको धान रोपाइँ सकिएको छ । मधेशमा ८६ प्रतिशत मात्रै रोपाइँ भएको छ । मधेशमा तीन लाख १९ हजार ६२६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकोमा यस वर्ष तीन लाख ७० हजार १४५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यस पटक मधेश प्रदेशमा पानी नपर्दा धान रोपाइँ घटेको केन्द्रले जनाएको छ ।
यसैगरी कोशी प्रदेशमा दुई लाख ७६ हजार हेक्टरमा रोपाइँ हुने गरेकोमा यस पटक ८ हजार हेक्टर क्षेत्रफल घटेको छ । सिँचाइको लागि पर्याप्त पानी नहुँदा यो प्रदेशमा दुई लाख ६८ हजार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको हो । कर्णाली प्रदेशमा ४१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा ४० हजार हेक्टरमा हुन सकेको छ ।
बागमती प्रदेशमा भने रोपाइँ हुने क्षेत्रफल खासै घटेको छैन । यो प्रदेशमा एक लाख १५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा यस वर्ष एक लाख १२ हजार हेक्टरमा भएको छ । यो प्रदेशमा तीन हजार हेक्टर क्षेत्रफल घटेको छ ।
गण्डकी प्रदेशमा ९१ हजार हेक्टरमा रोपाइँ भएको छ । यो प्रदेशमा ९४ हजार हेक्टर धान रोपाइँ हुने क्षेत्रफल छ । यस वर्ष गण्डकी प्रदेशमा तीन हजार हेक्टरले रोपाइँ घटेको छ ।
लुम्बिनी प्रदेशमा ४ लाख २ हजार हेक्टरमा रोपाइँ हुने गरेको थियो । यस वर्ष तीन लाख ९८ हजार हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यो प्रदेशमा चार हजार हेक्टर क्षेत्रफल रोपाइँ घटेको छ ।
यस्तै, सुदूपश्चिममा एक लाख ७६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेमा एक लाख ७० हजार हेक्टर भएको छ । यो प्रदेशमा १ हजार हेक्टर कममा रोपाइँ भएको छ ।