दशैंमा १ हजार ३ सय ४७ खसीबोका र च्यांग्रा खरिद गर्दैै सरकार, ४ करोड ७७ लाख छुटाइयो
काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंमा १ हजार ३ सय ४७ खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको हो । दशैंका लागि ४ करोड ७७ लाखका खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

१ हजार १ सय ९९ खसीबोका र १ सय ४८ वटा च्यांग्रा ल्याउने कम्पनीको आन्तरिक निर्णय भएको छ । खसीबोका खरिद गर्न ३ करोड रुपैयाँ र च्यांग्रा खरिदका लागि १ करोड ७७ लाख रुपैयाँ बजेट छुट्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए । उनका अनुसार कम्पनीले सोही कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष पनि खसीबोका र च्यांग्रा खरिद गर्ने हो ।
विगतमा जस्तो खसीबोका बिक्री नभएर लामो समय नरहने अपेक्षा कम्पनीको छ । कम्पनीले आवश्यकता अनुसार खसीबोका थप गर्न सक्ने उनको भनाइ छ ।
दशैंको समयमा खसीबोकाको माग बढ्ने हुँदा बजार मूल्य नियन्त्रण गर्ने उद्देश्यले कम्पनीले रहेक वर्ष विभिन्न जिल्लाबाट खसीबोका र च्यांग्रा संकलन गरी काठमाडौंमा बिक्री गर्दै आएको छ । गत वर्षभन्दा कम्पनीले यसपटक कम खसीबोका र च्यांग्रा ल्याउन लागेको छ । समयमा सबै खसीबोका बिक्री नभएपछि यो वर्ष संख्या घटाउन लागेको हो ।
कम्पनीले १ हजार ४ सय खसीबोका र ३ सय च्यांग्रा विभिन्न जिल्लाबाट खरिद गरी खाद्य कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री गरेको थियो । गत वर्ष कम्पनीले खसीबोकाको मूल्य १० रुपैयाँ छुट दिएर प्रतिकिलो ६६० रुपैयाँ तोकेको थियो भने च्यांग्रामा पनि १० रुपैयाँ छुट थियो । च्यांग्राको मूल्य प्रतिकिलो १ हजार २ सय २० रुपैयाँ तोकिएको थियो ।
