घ्याम्पेडाँडा–रानीकोट हुँदै पनौती जाने सडक पहिरोको जोखिममा, सरकारले चासो नदिएको गुनासो

काठमाडौं – भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा रानीकोट सडक पहिरोको उच्च जोखिममा परेको छ । यसैका कारण यहाँ जाने पर्यटक र व्यवसायीले पहिरोको जोखिमसहित दुर्घटनाको जोखिम बढेको त्यहाँका व्यवसायीले गुनासो गर्न थालेका छन् ।
रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले भक्तपुरबाट पनौती जाने एक मात्र बैकल्पिक सडकको रुपमा रहेको घ्याम्पेडाँडा हुदै रानीकोटबाट पनौती जाने छोटो दुरीको सडक पहिरोले उच्च जोखिममा रहेपनि सम्बन्धीत पक्षले ध्यान नदिएको बताएका छन् ।
सूर्यविनायक चोकबाट घ्याम्पेडाँडा, रानीकोट हुदैँ काभ्रेको पनौती जोडिने सडकमा पहिरो गएपछि यातायातको साधान आवतजावतमा समस्या पर्नुका साथै पहिरोको जोखिम हुँदा दुर्घटना हुने उनले बताए । ‘पहिरो जान थालेपछि पनौतीबाट दूध, तरकारीलगायतका सामाग्री बोकेर सूर्यविनायक आउने जाने यातायातमा कमी भएको छ भने घ्याम्पेडाँडा र रानीकोट जाने स्थानीयवासी एवं पर्यटकहरुलाई सास्ती भएको छ । सूर्यविनायकबाट काभ्रेको पनौती पुग्ने छाटो दुरीको यो एक मात्र सडक हो । यो सडक पर्यटकीय सडक पनि हो ।’ उनले भने ।
उनका अनुसार सूर्यविनायकको पर्यटकीय क्षेत्रको रुपमा परिचित रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको चाप बढिरहेको अबस्थमा एक महिनादेखि पटक पटक पहिरो गएको छ । केहीदिन यता खानेपानीको मूल पाइप फुटेर पानी बगेपछि थप पहिरो गएर जोखिम बढेको छ, कुनै पनि बेला दुर्घटना होला भन्ने डर बढेको छ ।
घ्याम्पेडाँडा हुदै रानीकोट जाने सडकमा पहिरो जाने गरेपनि देशको तीनवटै सरकारले बेवास्ता गरेको गुनासो उनको आरोप छ । हरेक दिन पनौतीबाट सूर्यविनायकसम्म सयौ सवारी साधान ओहोरदोहोर गर्ने यो सडक उच्च जोखिममा पर्दा पनि पहिरो नियन्त्रण र पन्छाउनेबारे कसैले चासो नदिएको उनले गुनासो गरे । ‘रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको राम्रो आगमन हुने गथ्र्यौ, सडकका कारण पर्यटन व्यवसायमा समेत समस्या आएको छ । घ्याम्पेडाँडा माथि रानीकोटसम्म आएको पहिरो हरेक वर्ष म आफैले डोजर लगाएर पन्छाउने गर्थे । यसवर्ष पनि पन्छाउदै आएको छु तर सूर्यविनायकबाट घ्याम्पेडाँडासम्मको सडक थप जोखिममा परेको छ ।’ उनले समस्या सुनाए ।