Close

Recent Posts

डीडीसी घेर्न पुगे दूध उत्पादक किसान, प्रहरी हस्तक्षेप

डीडीसी घेर्न पुगे दूध उत्पादक किसान, प्रहरी हस्तक्षेप
  • १५ भाद्र २०८२, आईतवार १३:२८

काठमाडौं । लामो समयदेखि दूधको बक्यौता रकम नपाएको भन्दै दुग्ध उत्पादक किसानहरू आज राजधानीमा आन्दोलनमा उत्रिएका छन्। काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालय अगाडि धर्ना दिन पुगेका किसानहरूलाई प्रहरीले रोक्ने प्रयास गर्दा केहीबेर ठेलमठेल समेत भएको छ ।

mulpatra

अखिल नेपाल किसान महासंघको अगुवाइमा आयोजित प्रदर्शनमा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका तथा आसपासका जिल्लाका किसानहरूको उल्लेख्य सहभागिता रहेको छ। उनीहरूले ‘दूधको बक्यौता रकम तुरुन्त भुक्तानी गर’, ‘दूध सडकमा फाल्नुपर्ने अवस्था हटाऊ’, ‘किसानलाई मर्न नदेऊ’ भन्ने नारासहित प्लेकार्ड बोकेर विरोध जनाएका छन्।

किसानहरूले सरकारसँग २०८१ असार १६ गते भएको ११ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। सम्झौतामा उल्लेख भएअनुसार डेरी उद्योगले किसानलाई तीनदेखि पाँच महिनादेखि तिर्न बाँकी राखेको करिब साढे तीन अर्ब रुपैयाँ तुरुन्त भुक्तानी गर्नुपर्ने, किसानलाई सहज बनाउन चक्रिय कोषको व्यवस्था मिलाउनुपर्ने, ‘मिल्क होलिडे’ तत्काल बन्द गर्नुपर्ने लगायतका मागहरू रहेका छन्।

दूध उत्पादन बढ्दै जाँदा बजार व्यवस्थापन, भण्डारण तथा प्रशोधन सुविधाको अभाव, पशु आहारको महँगो मूल्य र आयातित दुग्धजन्य पदार्थको प्रतिस्पर्धाले किसान थप समस्यामा परेका छन्। उत्पादन लागत बढ्दो भए पनि दूधको मूल्य स्थिर रहनु र समयमै भुक्तानी नपाउनु किसानहरूको प्रमुख पीडा बनेको छ।

संघले सरकारलाई किसानलाई टिकाइराख्न दीर्घकालीन नीति बनाउन र तत्कालीन बक्यौता रकम भुक्तानी नगरे आन्दोलनलाई अझ कडा बनाउने चेतावनी दिएको छ।