बैंकका सञ्चालकले विदेशको सम्पत्ति समेत खुलाउनुपर्ने, राष्ट्र बैंकले गर्दैछ निगरानी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको स्वामित्व र व्यवस्थापनमा पारदर्शिता तथा उत्तरदायित्व बढाउने उद्देश्यले सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ), उच्च व्यवस्थापन तहका पदाधिकारी तथा ठूला संस्थापक सेयरधनीहरूको पृष्ठभूमि कडाइका साथ परीक्षण गर्ने नयाँ व्यवस्था लागू गरेको छ।

संशोधित एकीकृत निर्देशनअनुसार अब यस्ता पदमा नियुक्ति वा मनोनयन हुने व्यक्तिले आफ्नो व्यक्तिगत, पारिवारिक, कानुनी तथा वित्तीय अवस्थासम्बन्धी विस्तृत स्वघोषणा राष्ट्र बैंकसमक्ष पेश गर्नुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार सम्बन्धित व्यक्तिले नेपाल वा विदेशमा कुनै कसुर, मुद्दा, अनुसन्धान वा प्रशासनिक कारबाहीमा संलग्न भए–नभएको, सरकारी बक्यौता, कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको अवस्था, स्वार्थको द्वन्द्व तथा विगतको व्यावसायिक र व्यक्तिगत ट्र्याक रेकर्डसमेत खुलाउनुपर्नेछ। साथै विदेशमा सम्पत्ति रहेको वा त्यसको वास्तविक हिताधिकारी भएको खण्डमा त्यसको विवरण पनि अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
राष्ट्र बैंकले यो व्यवस्था हाल पदमा बहाल रहेका सञ्चालक तथा उच्च व्यवस्थापकहरूमा समेत लागू हुने जनाएको छ। बुझाइएको विवरणमा पछि कुनै परिवर्तन भए तत्काल अद्यावधिक जानकारी दिनुपर्नेछ।
यससँगै ‘फाइनान्सियल साउन्डनेस’ अर्थात् वित्तीय आचरणसम्बन्धी विवरण पनि अनिवार्य गरिएकाले बैंकिङ क्षेत्रका नेतृत्व तहमा रहने व्यक्तिको आर्थिक अनुशासन र नैतिक पृष्ठभूमिमाथि थप निगरानी हुने अपेक्षा गरिएको छ।
संस्थापक सेयर किनबेच तथा स्वामित्व हस्तान्तरणमा पनि राष्ट्र बैंकले नयाँ कडाइ गरेको छ। बैंकको चुक्ता पुँजीको ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी स्वामित्व कायम गर्ने व्यक्तिले आफ्नो वास्तविक धनी (बेनिफिसियल ओनर) को विवरण खुलाउनुपर्नेछ।
Image Source: © https://mulpatra.com
त्यस्तै कुनै कम्पनीमार्फत बैंकमा लगानी गरिएको अवस्थामा उक्त कम्पनीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १५ प्रतिशत वा सोभन्दा बढी स्वामित्व राख्ने व्यक्तिको विवरणसमेत अनिवार्य गरिएको छ। राष्ट्र बैंकको यो कदमलाई बैंकिङ क्षेत्रमा सुशासन, पारदर्शिता र वास्तविक स्वामित्व पहिचान गर्ने दिशामा महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



