Close

Recent Posts

वैदशिक रोजगारीको कालो दिनः तस्करीमार्फत इराक पुगेका १२ नेपालीको हत्या, अहिलेसम्म पाएनन् न्याय

वैदशिक रोजगारीको कालो दिनः तस्करीमार्फत इराक पुगेका १२ नेपालीको हत्या, अहिलेसम्म पाएनन् न्याय
  • १६ भाद्र २०८२, सोमबार १२:१६

काठमाडौं– वैदेशिक रोजगारीको क्रममा इराक पुगेका १२ जना नेपालीको क्रुरतापूर्वक हत्या भएको । इराकबाट समाचार आयो । ती मध्येका एकको शीरच्छेदन र अरुलाई गोली हानी हत्या गरिएको भिडियो सार्वजनिक ग¥यो, आतंककारी समूहले । २०६१ साल भदौ १६ गते इराकमा १२ जना नेपाली श्रमिकको निर्ममतापूर्वक हत्या भएको थियो ।

mulpatra

उक्त समूहले झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बू, खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानीका राजेन्द्र श्रेष्ठ, धनुषा मानसिंहपट्टीका संञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द नगरका मनोज कुमार ठाकुरको हत्या गरेको थियो ।

यसैगरी, धनुषा महेन्द्रनगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापाको समेत सोही दिन विभत्स तवरले हत्या भएको थियो । तीमध्ये एकजनाको घाँटी रेटेर र अरुको गोली हानेर हत्या गरिएको थियो ।

यसरी १२ जना निर्दोष नेपालीको परदेशी भूमीमा भएको हत्याको आगो नेपालमा फैलिएको थियो । अपहरणको ११ दिनपछि अपहरित सबै युवाको हत्या भएको खबरले मुलुकभर सन्नाटा छायो । भिडियो सार्वजनीक हुनै बितिकै इतिहासमै नदेखिएको दंगा फैलियो, राजधानीमा ।

धर्मगुरूदेखि व्यापारी समुदाय र गृहिणीहरूसम्म आक्रमणको तारो बने । २०६१ भदौ १६ गतेको त्यो घटनामा राजधानीमा रहेको अधिकांश म्यानपावर कम्पनी जलाइएका थिए । संगठितजस्तो लाग्ने हुलदंगाकर्मीहरूको जमातले एकाएक राजधानी उपत्यकास्थित मुस्लिम समुदायको पवित्र स्थान, पवित्र वस्तु लगायत व्यक्ति–व्यक्तिमाथि आक्रमण गर्न थाल्यो ।

करोडौंको क्षति भएको थियो । त्यसैले त्यस घटनायता वैदेशिक रोजगार व्यवसायीहरूले सधै भदौ १६ गतेलाई कालो दिनको रूपमा स्मरण गर्ने गरेका छन् । कालो दिन भनिएको इराक हत्या काण्डको २१ बर्ष पूरा भएको छ । पीडा कम भएपनि स्मरण अझै उस्तै छ ।

देशमा रोजगारीको अवसर नभएपछि दलालहरूको प्रलोभनमा परेर इराक पुगेका नेपाली कामदारहरूले अनाहकमा ज्यान गुमाउनु परेको थियो । उनीहरूलाई अमेरिकी गुप्तचर भन्दै पहिले बन्धक बनाएको थियो र पछि निर्मम रूपले हत्या गरिएको थियो ।

केबीआर अन्तरगतको दाउद एण्ड पार्टनर्सले अम्मानस्थित एक लग्जरी होटलमा काम गर्न लैजाने भनेर इराक र्पुयाएको दाबीसहित मृतकका आफन्त र अपहरणमा नपरेका नेपालीहरुले अमेरिकी कम्पनी केबीआरविरुद्ध अमेरिकी अदालतमा मुद्दा हालेका थिए ।

२०१३ मा अमेरिकी तल्लो अदालतले नेपालीहरुको विपक्षमा फैसला सुनायो । त्यसविरुद्ध परेको अपिलमा न्यू ओलियन्सको पुनरावेदन अदालतले पनि अमेरिकी कम्पनीकै पक्षमा फैसला सुनाएको छ ।

अदालतका तीन न्यायाधीशको इजलासमा भएको सुनुवाइका क्रममा बहुमतबाट यो निर्णय आएको हो । दुई न्यायाधीशले केबीआर अमेरिकी कम्पनी भएपनि सबै घटना विदेशमा भएकाले अमेरिकी अदालतको क्षेत्राधिकारमा नपर्ने मत राखे ।

एक न्यायाधीशले भने अमेरिकी सरकारकै लागि कामदार उपलब्ध गराउँदाको घटना भएको भन्दै अमेरिकी कानुन अनुसार हेर्नुपर्ने बताएका थिए । तर उनीहरुको बारेमा नेपाल सरकारले पनि चासो दिएन । तस्करीमार्फत इरान लगिाएका नेपाली कामदारले अन्जानमै ज्यान गुमाएपनि ती नेपालीको मृत्युको बारेमा कतैपनि चासो नभएको आप्रवासनविज्ञ डा.मिना पौडेल बताउछिन् । उनको अनुसार इरानमा २०६१ असार १६ मारिएको ती नेपाली रोजगारीका नाममा तस्करी भएको प्रष्ट भएपनि सरकारले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन सकेन । जसका कारण रोजगारीमा नाममा नेपाली तस्करी भइरहेको उनले बताइन् ।

इराक घटनामा १२ नेपाली मारिए पनि उनीहरुसँगै अन्य २३ जनाले वैदेशिक रोजगार विभागबाट २०६१ असार १६ गते श्रम स्वीकृति लिएका थिए । तर ति २३ जना भने भाग्यले बाँच्न सफल भए । मारिएका १२ नेपाली कुपन्डोलस्थित मुनलाइट म्यानपावरबाट गएका थिए । उनीहरुले जोर्डनमा होटलमा काम गर्नका लागि श्रम स्वीकृति लिएको भएपनि झुक्याएर इराक म्यानपावरले पठाएको थियो ।

सन् २०६१ भाद्र १६ गते भएको आन्दोलन पछि नेपाल सरकारले नेपालीलाई इराकमा रोजगारीका लागि जान बन्देज लगायो जुन आजका दिनसम्म जारी छ । तर इराककै कुर्दिस्तान लगाएतका क्षेत्रमा आजपनि हजारौं नेपाली काम गरीरहेका छन् ।

नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध अहिलेसम्म फुकुवा गरेको छैन । तर, वैदेशिक रोजगारीमा नेपाली श्रमिकहरु इराक जाने क्रम भने रोकिएका छैन । सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटो हुँदै इराक जाने कामदारको संख्या धेरै छ ।

भारत हुँदै अथवा खाडीका अन्य देश भनेर नेपाली श्रमिकलाई इराक रोजगारमा लगिन्छ । इराकमा करिब ५० हजारभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । सरकारले इराक कामदार पठाउन पुर्णरुपमा रोक लगाएको छ । २०६१ साल भदौ १६ गते इराकमा १२ जना नेपाली श्रमिकको निर्ममतापूर्वक हत्या भएपछि उक्त देशमा श्रम स्वीकृति बन्द भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीको सामूहिक स्मृतिमा अमिट घाउ बनेर रहेको उक्त दिनको स्मरण गर्दै आज कालोपट्टी बाँधेर कार्यालय सञ्चालन गर्न वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गरेको छ ।