Close

बीमा प्राधिकरणको नयाँ निर्देशिकाले सेयर बजारदेखि घरजग्गा लगानीको सीमा विस्तार

बीमा प्राधिकरणको नयाँ निर्देशिकाले सेयर बजारदेखि घरजग्गा लगानीको सीमा विस्तार
  • १८ भाद्र २०८२, बुधबार १६:२०

काठमाडौं– बीमा प्राधिकरणले बीमा कम्पनीहरूको लगानीलाई व्यवस्थित र विविधीकरण गर्ने उद्देश्यसहित नयाँ निर्देशिका ल्याएको छ ।

mulpatra

प्राधिकणले भदौ १७ गते स्वीकृत ‘बीमकको लगानी सम्बन्धी निर्देशिका, २०८२’ ल्याएको हो । बीमा कम्पनीहरूको लगानीलाई सुरक्षित, पारदर्शी र विविधीकरण गर्दै दीर्घकालीन वित्तीय स्थायित्व सुनिश्चित गर्न खोजेको प्राधिकरणले जनाएको छ ।

यसले सरकारी ऋणपत्रदेखि धितोपत्र बजारसम्मको लगानीलाई थप गतिशील बनाउने प्राधिकरणको भनाई छ । निर्देशिका अनुसा जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरूले आफ्ना कोषको लगानी व्यवस्थापन अझ स्पष्ट र व्यवस्थित ढंगले गर्नुपर्नेछ ।

निर्देशिकाले बीमा कम्पनीलाई पोर्टफोलियोअनुसार कोष र सम्पत्तिको अलग–अलग व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ ।
साथै, सेयरधनी कोष र बीमा कोषमार्फत भएका सम्पत्ति खरिद तथा लगानीको लेखांकन पनि छुट्टै गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थामा गरिएको मुद्दति निक्षेप बीमा प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने नयाँ नियम पनि थपिएको छ ।

सरकारी ऋणपत्रमा बढी लगानी गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि कुल लगानीको २५ प्रतिशतसम्म मात्र नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था थियो । अब भने यो सीमा बढाएर ३५ प्रतिशत पुर्याइएको छ । सीमा अनुरुप लगानी गर्न नसक्ने अवस्था आइपरेमा भने वाणिज्य वा पूर्वाधार बैंकको मुद्दति निक्षपमा लगानी गर्नुपर्ने उल्लेख छ ।

‘क’ वर्गका वाणिज्य बैंक र पूर्वाधार विकास बैंकमा बीमा कम्पनीले ३० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । ‘ख’ वर्गका बैंक तथा विकास बैंकमा १५ प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थामा ७ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने प्रावधान गरिएको छ ।

बीमा कम्पनीलाई पूँजी बजारमा सक्रिय बनाउन सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी सीमा बढाइएको छ । पहिले १० प्रतिशतसम्म मात्र लगानी गर्न पाउने प्रावधान संशोधन भएको छ । योसँगै अब कम्पनीहरुले १५ प्रतिशतसम्म लगानी गर्न सकिने भएको छ । तर, एकै कम्पनीको चुक्ता पूँजीको १५ प्रतिशतभन्दा बढी लगानी गर्न भने रोक लगाइएको छ ।

नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा बढीमा ५ प्रतिशतसम्म, घरजग्गा व्यवसायमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाइने उल्लेख छ ।