Close

Recent Posts

प्रधानमन्त्रीको भ्रमण रद्द हुने द प्रिन्टको संकेत, राजावादी आन्दोलनमा नचाहिँदो बल प्रयोग गरेको भन्दै ओलीसँग भारत रुष्ट

प्रधानमन्त्रीको भ्रमण रद्द हुने द प्रिन्टको संकेत, राजावादी आन्दोलनमा नचाहिँदो बल प्रयोग गरेको भन्दै ओलीसँग भारत रुष्ट
  • १९ भाद्र २०८२, बिहीबार १५:३५

काठमाडौं– भारतीय सञ्चारमाध्यम द प्रिन्टले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुने सम्भावना कम भएको जनाएको छ । प्रधानमन्त्रीको भारत भ्रमण यही भदौ ३१ गते हुने तय भएको छ ।

mulpatra

यसै महिना ओलीको भ्रमण हुने भन्ने समाचार सार्वजनिक भए पनि समयानुकूल नभएकाले सम्भावना न्यून भएको स्रोतलाई उद्धृत गर्दै द प्रिन्टले लेखेको छ । ०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएर फेरि सत्तामा आए पनि उनको भारत भ्रमण हुन सकेको छैन । धेरै प्रयासपछि यो पटक भ्रमणको मिति तय भएको हो ।

त्यस्तै द प्रिन्टले गत चैतमा राजावादीहरूको प्रदर्शनको कारण ओली दबाबमा रहेको उल्लेख गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा ल्याउन देशैभर प्रदर्शन भएको र उक्त प्रदर्शनमा भारतको हात रहेको भन्ने ओलीको बुझाइ रहेको पनि लेखेको छ ।

भारत–चीनले लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने तयारीमा रहेकोप्रति नेपालले हालै कडा आपत्ति जनाएको थियो । ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटमा पनि लिपुलेक क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गर्दै चीनले यसलाई मान्यता दिनुपर्ने माग राखेको समाचारमा उल्लेख छ ।

ओलीले यसै साता चीनको तियाजिनमा आयोजित एससीओ शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छोटकरी भेट गरेका थिए । भारतले नेपालले हालै कालापानी लिपुलेक क्षेत्र आफ्नो भएको दाबीसहित विज्ञप्ति जारी गरे पनि त्यो इतिहास र प्रमाणमा आधारित नभएको भन्दै खारेज गरेको थियो ।

नेपालको संविधान संशोधनमार्फत लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटिएको थियो, तर भारतले त्यसलाई अस्वीकार गर्दै आएको छ । भारतसँग परम्परागत सम्बन्ध भए पनि ओलीले सत्तामा फर्किएदेखि अझै भारतको औपचारिक भ्रमण नगरेको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। तर, ओलीले दुई पटक चीन भ्रमण गरिसकेका छन् ।

यसैबीच, भारत–चीनले लिपुलेक हुँदै रोकिएको व्यापार फेरि खोल्ने समझदारी अघिल्लो महिनामात्रै गरेका छन्। कोभिड–१९ महामारी र गलवानमा दुई देशका सेनाबीच भिडयन्त भएयता नाकामा व्यापार बन्द भएको थियो।

ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि पहिलो चीन भ्रमण ०८१ मंसिर १७ गते भएको थियो । दोस्रो भ्रमण यही भदौ १४ गते गएका हुन् । चीनमा ओलीलाई मोदीले भेट दिएनन् । यसअघि पनि ओलीले गत वर्ष थाइल्यान्ड र अमेरिकामा आयोजित बहुपक्षीय बैठकहरूमा मोदीसँग पनि भेट गरेका थिए ।

यद्यपि थाइल्यान्डमा भएको भेटघाटका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई नेपालमा प्रजातन्त्रप्रति भारतको सधैँ समर्थन रहने प्रतिवद्धता ओलीसँग गरेका थिए ।