देशभरि सार्वजनिक सवारी साधन बन्द गर्ने महासंघको घोषणा

काठमाडौँ । जेनजीको आन्दोलन चलिरहेको बेला सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन यातायात बन्दको घोषणा गरेको हो ।
सरकारबाट शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्न रनगराउन सबै व्यवसायीहरुलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
यातायात महासङ्घले भदौ २३ गते युवाहरुको शान्तिपूर्ण भेलामा गरेको दमनका कारण १९ जनाको मृत्यु भएको र सयौं घाइते भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ ।
महासङ्घले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । साथै महासङ्घका सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग गर्न पनि अनुरोध गरिएको छ ।