अराजकसमूहको निसानामा भाटभटेनी पर्दा, अरबौंको क्षति

काठमाडौं । नेपालमा जेन–जी पुस्ताका युवाहरुले सुरु गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनले उग्र रुप लिएपछि देशभर सार्वजनिक सम्पत्ति निसानामा परे । त्यससँगै अराजक समूहको निसानामा भाटभटेनी पर्दा देशभरका प्रमुख भाटभटेनी सुपरस्टोरहरु ध्वस्त भए र अरबौंको क्षति भयो।
जेनजीको आन्दोलन भाटभटेनी तोडफोड गर्ने हुँदैहोइन । तर जेनजीको नाममा छिरेको अभद्र अराजकसमूहले नक्साल, कोटेश्वर, चुच्चेपाटी, टोखा, बालाजु, कलंकीसहित विराटनगर, पोखरा लगायतका १७ बढी शाखामा तोडफोड, लुटपाट र आगजनी गरेका छन्।
भाटभटेनीमा छिरेर लुटपाट गर्ने र आगलागी गर्ने समूहका कारण ३० अर्ब रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ। नक्साल र कोटेश्वर, चुच्चेपाटी शाखामा सबैभन्दा बढी क्षति पुगेको छ।
नेपालको निजी क्षेत्रलाई टेवा पुर्याउँदै आएको भाटभटेनी सुपरस्टोर हाल मुलुककै सबैभन्दा ठूलो व्यवसायिक केन्द्र थियो । यसले २० हजारभन्दा बढी रोजगारी सिर्जना गरेको छ भने हजारौं साना तथा ठूला व्यवसायीका उत्पादनलाई बजारसम्म पुर्याउने प्रमुख विक्री थलो बनेको छ।
भाटभटेनीमार्फत खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्सदेखि घरेलु सामानसम्मका नेपाली उत्पादन र आयातित वस्तु उपलब्ध हुने गरेका छन्। यसरी लाखौं उपभोक्ताको आवश्यकतासँग जोडिएको निजी क्षेत्रलाई आन्दोलनकारीले प्रत्यक्ष निशाना बनाउँदा मुलुकको निजी अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ।
तोडफोड र आगजनीका कारण भाटभटेनीका धेरै शाखा सञ्चालनमा अवरोध भएको छ। सुपरस्टोर पुनः सञ्चालन गर्ने आर्थिक श्रोत सहज जुटाए पनि महिनौ लाग्ने अवस्था छ । यसबाट हजारौं कर्मचारी बेरोजगार हुने, हजारौं सप्लायर्सको व्यवसायमा असर हुने देखिएको छ ।
यसअघि राजावादी आन्दोलनमा पनि भाटभटेनी सुपरस्टोरहरु निशानामा परेका थिए। तर यो पटक आन्दोलन झन् उग्र बन्दै गएपछि निजी व्यवसायहरू नै अराजकताको मुख्य शिकार बनेका छन्।
भ्रष्टाचारविरुद्धको आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा लुटपाट र आगजनीतर्फ मोडिनु मुलुककै आर्थिक संरचनामाथि आक्रमण भएको स्पष्ट देखिएको छ । राजनीतिक परिवर्तन वा सत्ता परिवर्तन गर्ने आम जनसरोकारको विषयमा समेत आन्दोलन हुँदा यस्ता अराजक समूहहरुसँग चनाखो हुनुपर्नेमा राज्य संयन्त्रको ढिलाइकै कारण पनि यो परिस्थिति निम्तिएको बुझाई सर्वसाधारणको छ ।