Close

Recent Posts

सिंहदरबारमा बस्न योग्य भवन खोज्दै हिडे मुख्यसचिव, कतै भेटेनन्

सिंहदरबारमा बस्न योग्य भवन खोज्दै हिडे मुख्यसचिव, कतै भेटेनन्
  • २७ भाद्र २०८२, शुक्रबार १६:१३

काठमाडौं– मुख्यसचिव एकनारायण अर्याल शुक्रबार सिंहदरबारको स्थलगत अवलोकनमा पुगे । स्थलगत अध्ययन गरी फर्किएका अर्थसचिव घनश्याम उपाध्यायका अनुसार देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रालयमा शतप्रतिशत क्षति भएको छ । अन्य मन्त्रालयमा आंशिक क्षति छ ।

mulpatra

भौतिक क्षतिको आकलन गरिसकेपछि ड्यामेज नभएको ठाउँबाट सेवा सूचारु गर्ने तयारी रहेको उनले बताए । यसैका लागि गरिएको हो, शुक्रबारको अध्ययन–अवलोकन । एकातिर भौतिक क्षति छ भने अर्कोतिर अभिलेखको क्षति छ । मुख्यसचिव अर्याल भन्छन्, ‘रेकर्डको, अभिलेखको क्षति कल्पना गर्न सक्दैनौं । यो नेपालका लागि दुर्भाग्यपूर्ण भएको उनले बताए । ‘क्षति अपुरणीय छ ।’ उनले भने ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद् भवनको एक नम्बर बिल्डिङ अगाडि राखिएका गाडी र बाइकहरू तोडफोड भएका छन् । संसद् भवनकै दुई नम्बर बिल्डिङ अगाडि राखिएका केही सवारी तोडफोड भएका छन् । सिंहदरबार भित्रको क्षतिलाई रकममा तत्काल गणना गर्नसक्ने अवस्था नरहेको कर्मचारीहरू बताउँछन् । यद्यपि, संघीय संसद् सचिवालय र मन्त्रालयहरूले क्षतिको विवरण संकलनको काम थालेका छन् ।

गत सोमबारदेखि सुरु भएको जेन–जी आन्दोलनको दोस्रो दिन मंगलबार सिंहदरबार जलेको हो । प्रदर्शनकारीको निसानामा सरकारी भवन र कार्यालयहरू पर्दा सिंहदरबार कुरूप बन्न पुगेको छ ।