जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियार चलाइएको ओलीको दाबी

काठमाडौं– निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा चलेको गोलीबारे सनसनीपूर्ण दाबी गरेका छन् । २३ र २४ भदौको जेनजी आन्दोलनमा नेपाल प्रहरीसँग नभएको स्वचालित हतियार प्रयोग भएको दाबी ओलीले गरेका हुन् ।
आन्दोलनका बेला उनी प्रधानमन्त्री थिए । र, प्रदर्शनकारीमाथि भएको बर्बर दमनका लागि उनलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने माग जनस्तरबाट उठिरहेको छ ।
तर, संविधान दिवसको अवसरमा फेसबुकमार्फत सन्देश जारी गर्दै ओलीले जेनजी आन्दोलनको बहानामा षड्यन्त्र भएको बताएका हुन् । जेनजी आन्दोलनमा १९ जना मारिएपछि २४ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएर ओली हेलिकोप्टरमार्फत सैनिक ब्यारेक गएका थिए ।
त्यसपछि सार्वजनिक टिप्पणी नगरेका ओलीले संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै शान्तिपूर्ण हुने भनिएको जेनजी आन्दोलनमा ;षड्यन्त्रकारीहरूले घूसपैठ गरी हिंसा मच्चाएको’ दाबी गरेका हुन् । ती षड्यन्त्रकारी को थिए भन्नेबारे भने ओलीले केही खुलाएका छैनन् ।
उनले लेखेका छन्, ’गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घूसपैठ भयो– आव्हानकर्ताले भनेझैं । त्यसमा घूसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो ।’
ओलीले प्रहरीलाई प्रदर्शनकारीमाथि ताकीताकी गोली हान्ने आदेश सरकारले नदिएको पनि दाबी गरेका छन् । उनले भनेका छन्, ’प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ, त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दछु ।’